काठमाडौं विश्वविद्यालय र एभरेस्ट स्कुलबीच सम्झौता पत्रमा हस्ताक्षर

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण २२, बिहीबार १८:४४
काठमाडौं विश्वविद्यालय र एभरेस्ट स्कुलबीच सम्झौता पत्रमा हस्ताक्षर

विराटनगर । विराटनगर –५ स्थित एभरेस्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू) बीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो समझदारीसँगै केयूले एभरेस्ट स्कुलका सबै पक्षको आधारभूत सर्वेक्षण गरी आवश्यकताका आधारमा शिक्षकहरूलाई (क्रेडिट आवर) को हिसाबले तालिम प्रदान गर्ने छ ।

Advertisement

उक्त तालिम पश्चात शिक्षकहरूले सोही अनुसारको डिग्रीसमेत प्राप्त गर्ने एभरेस्टका प्रिन्सिपल टीकाराम पुरीले जानकारी दिए ।

विश्वस्तरीय शिक्षा दिँदै सोही अनुरूपका जनशक्ति उत्पादन गर्नका लागि केयूसँगको सहकार्य अत्यन्तै फलदायी हुने विश्वास व्यक्त गर्दै उनले केयूले शिक्षक तथा विद्यार्थीहरूको स्तर र मागका सम्बन्धमा र अभिभावकको चाहना तथा विद्यालय प्रशासनको आवश्यकतालाई आधार मानेर सर्वेक्षण गर्ने छ ।

त्यसपछि आवश्यकता आधारमा सोही अनुसारको तालिम प्रदान गर्ने बताइएको छ । समझदारी पत्रमा एभरेस्टका तर्फबाट प्रिन्सिपल पुरी र केयूका तर्फबाट डीन प्रा.डा. बालचन्द्र लुइँटेलले हस्ताक्षर गरे ।

शिक्षा अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ भन्ने मान्यताका साथ यस विद्यालयले विभिन्न समयमा विभिन्न क्षेत्रका संस्थाहरूसँग सहकार्य गर्दै आएको स्कुल प्रशासनले जनाएको छ ।

केयूसँगको समझदारीसँगै विद्यालयका करिब ६० जना शिक्षकहरूको अध्यापन क्षमतामा थप विकास हुने र उनीहरूले शैक्षिक उपलब्धिसमेत हासिल गर्ने वातावरण तयार भएको प्रिन्सिपल पुरीले बताए ।

एभरेस्टले शैक्षिक वातावरणसँगै भौतिक संरचनाहरू समेत अन्तर्राष्ट्रिय स्तरको बनाउँदै लगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.