
विराटनगर । विराटनगर– ५ स्थित एभरेस्ट सेकेन्डरी स्कुल तथा कलेजमा जारी संयुक्त राष्ट्र संघको नमुना महासभा विश्वका साझा मुद्दामा सहकार्य गर्ने सहमति कायम गर्दै सम्पन्न भएको छ ।
गत बुधबारदेखि सुरु भएको नमुना महासभा शुक्रबार बेलुका पत्रकार सम्मेलन गर्दै समापन भएको हो । जहाँ विभिन्न देशका प्रतिनिधिहरूलाई विभिन्न देशका पत्रकारहरूले प्रश्न गरेका थिए ।
‘प्रथम एभरेस्ट नमुना संयुक्त राष्ट्र संघ महासभाको नाममा विद्यार्थीहरूले ३ दिवसीय अभ्यास गरेका हुन् । पहिलो दिन महासभाका नियमहरूको विषयमा अभिमुखीकरण तथा प्रशिक्षण भएको थियो ।
दोस्रो दिन विभिन्न विषयमा गहन बहस र कार्यपत्र तथा स्थिति पत्रहरूको मस्यौदा तयार पारिएको थियो । तेस्रो दिन प्रतिनिधिहरूले संयुक्त राष्ट्र शैलीका प्रस्तावहरू तयार पार्दै समापन गरिएको हो ।
ग्लोबल हेल्प फाउन्डेसनसँग सहकार्यमा सम्पन्न नमुना महासभामा कक्षा ८ देखि १२ सम्मका २ सय विद्यार्थीले विभिन्न देशका प्रतिनिधिको रूपमा भाग लिएका थिए ।
विभिन्न ६ वटा सांकेतिक समितिमा विभाजन गरेर विद्यार्थीहरूलाई महासभाको अभ्यास गराइएको हो । संयुक्त राष्ट्र संघको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य संगठन, वातावरण कार्यक्रम, सार्क र अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी दिई अभ्यास गराइएको छ ।
समितिहरूमा बसेर विद्यार्थीले निःशस्त्रीकरण, मानवअधिकार, कोभिड १९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् तयारी र पत्रकारिताको अभ्यास जस्ता विषयमा अध्ययन र बहस गरे ।
छोटो समयमा आफूले प्रतिनिधित्व गरेको मुलुकको विषयमा अध्ययन गरेर त्यहाँका विश्व व्यापी मुद्दाको उठान तथा समाधानका लागि तर्क गर्दै नमुना महासभामा विद्यार्थीहरूले कौशलता प्रकट गरे ।
कार्यक्रमले थप जिज्ञासु, अध्ययनशील बन्न प्रेरित गरेको तथा अन्तर्राष्ट्रिय नीति तथा कूटनीतिक सम्बन्धहरू सिक्ने अवसर प्राप्त भएको विद्यार्थी अनिरुद्र सेढाईंले बताए ।
अर्का विद्यार्थी इशल भट्टराईले यो कार्यक्रमले विश्वलाई नै बुझ्न सहयोग गरेको सुनाए । समापनका अवसरमा विभिन्न समितिमा रहेर उत्कृष्ट प्रस्तुति गर्नेहरूलाई सम्मानपत्र प्रदान गरियो ।
समापन समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले यस महासभाको अभ्यासले विद्यार्थीहरूलाई विश्व बुझ्न सहयोग गरेको मात्र नभई क्षमता समेत विकास भएको विश्वास व्यक्त गरे ।
उनले एभरेस्ट यस्ता गतिविधिहरूलाई समेत उत्तिकै प्राथमिकतामा राखेको भन्दै चाँडै नेपालसहित विभिन्न देशका प्रतिनिधिसभाको समेत अभ्यास गराइने बताए ।
ग्लोबल हेल्प फाउन्डेसनका निर्देशक प्रकाश खड्काले एभरेस्टमा भएको नमुना महासभा राम्रोसँग सम्पन्न भएको बताए । उनले एभरेस्ट स्कुलले बनाइदिएको प्लेटफर्मबाट विद्यार्थीहरूले धेरै नै ज्ञान हासिल गरेको विश्वाससमेत व्यक्त गरे ।

























