
इटहरी । पछिल्लो समय आम मानिसको दैनिकी नै प्रविधिमा निर्भर बन्दै गइरहेको छ । हरेक व्यक्तिले प्रविधिको अधिक सदुपयोग गरेर जीवन सहज बनाउन सक्रिय रूपमा जुट्ने गरेका छन् ।
प्रविधिको उपयोगले नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै लगिरहेको छ ।
प्रतिस्पर्धात्मक विश्व बजारमा आफूलाई अग्रस्थानमा राख्न विद्यार्थीहरू आफ्नो भविष्यका लागि प्रविधिको उपयोग गरेर अघि बढ्ने होडबाजी नै चल्न थालेको छ ।
यही कुरालाई मध्यनजर राखेर विद्यार्थीको सिर्जनशीलता र प्रविधिको उपयोगले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउन सकिने सोचले इटहरीको जनता क्याम्पसले विगत केही वर्षदेखि स्नातक तहमा बिआइसीटीइ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस कार्यक्रम अध्ययनपछि विद्यार्थीहरूले वेबसाइट निर्माण, कम्प्युटर नेटवर्किङ, सफ्टवेयर विकास, डेटाबेस व्यवस्थापन जस्ता सीपमा दक्षता हासिल गर्छन् ।
यी सीपहरूले उनीहरूको रोजगारको दायरा देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सहयोग पुर्याउने बिआइसीटीइ कार्यक्रम संयोजक मन्दिप भट्टराईले बताए ।
इटहरीकै सबैभन्दा पुरानो शैक्षिक संस्था जनता क्याम्पसले समयको मागअनुसार आफ्नो पठनपाठन पद्धति आधुनिक बनाएको हो ।
शैक्षिक तथा सुपरिवेक्षण समितिका संयोजक शिवराज दाहालका अनुसार, क्याम्पसले पाठ्यक्रम बाहिरका वर्कसप तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूलाई अझ जिज्ञासु, व्यावहारिक र सक्षम बनाउन विशेष पहल गर्दै आएको छ । यसले उनीहरूमा समस्या समाधान गर्ने क्षमता र आलोचनात्मक सोचको विकास गरेको छ ।
सहायक क्याम्पस प्रमुख सञ्जीव यादवका अनुसार बिआइसीटीइ कार्यक्रम निजी क्याम्पसहरूको तुलनामा सस्तोमा गुणस्तरीय शिक्षा दिइरहेको छ ।
सामान्यतया सूचना तथा प्रविधि कोर्स भनेको महँगो र सम्पन्न परिवारले मात्र पढ्न सक्ने धारणा रहँदै आएको छ । तर जनता क्याम्पसले यो कार्यक्रम सञ्चालन गरेपछि यो सीपमूलक अध्ययन सबै वर्गका विद्यार्थीको पहुँचमा पुगेको उनले बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीका अनुसार क्याम्पसले उपलब्ध गराउने छात्रवृत्तिबाट धेरै विद्यार्थी लाभान्वित भएका छन् । केही विद्यार्थीले तोकिएको शुल्कसमेत तिर्नु नपर्ने अवस्था बनेको छ ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा नयाँ कार्यक्रमतर्फ बिआइसीटीइसँगै स्नातक तहमा बिएड, बिबिएस, बिए तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका कार्यक्रम सञ्चालन गरेको छ ।

























