प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी सम्मानित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण ३०, शुक्रबार ०९:४०
प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरी सम्मानित

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी ‘प्याब्सन रत्न’बाट सम्मानित भएका छन् ।

विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान गरेबापत काठमाडौं प्याब्सनले सम्मान गरेको हो ।

Advertisement

उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरे । पुरीलाई देशका कर्णधारका रूपमा बालबालिकालाई उत्कृष्ट शिक्षा प्रदान गर्ने तथा नेपालको शिक्षामा आधुनिकीकरणको जग हाल्ने व्यक्तित्वको रूपमा प्याब्सन काठमाडौंले परिभाषित गरेको छ ।

यस्तै, निजी विद्यालयहरूलाई एकत्रित गर्दै प्याब्सनको विधान निर्माण, प्याब्सनको जिल्ला तथा केन्द्रको भवन निर्माण गरेर स्थायी भविष्य निर्माणको कामको प्रशंसा गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पन्तले निजी क्षेत्रले शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे । त्यसमा पनि सम्मानित पुरीले शैक्षिक क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले सम्मानित पुरी शैक्षिक क्षेत्रका पथ प्रदर्शक रहेको भन्दै चर्चा गरे ।

यसैबीच, सम्मानित पुरीले काठमाडौं प्याब्सनले आफूलाई गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै नेपालको शैक्षिक उन्नयनका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

उनले निजी क्षेत्र सदैव सरकारका सारथिका रूपमा रहेको स्मरण गराउँदै राज्यले पनि सोही अनुसारको भूमिका निर्वाह गरिदिनुपर्ने उल्लेख गरे ।

पुरीले अहिले संसदीय समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकका सवालमा निजी क्षेत्रले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिइदिन राजनीतिक दल, संसद र सरकारसँग आग्रह गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.