
काठमाडौं । शिक्षा विधेयकले आफूहरूको माग सम्बोधन नगरेको भन्दै नेपाल शिक्षक महासंघले नयाँ आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले आन्दोलनलाई चरणबद्ध रूपमै अघि बढाउने चेतावनी दिएको हो । महासंघले सरकारसँग भएको २७ बुँदे सहमति नै ‘बटमलाइन’ भएको स्मरण गराउँदै सोही अनुसार माग पूरा नभएकाले अबको आन्दोलन यसअघिका भन्दा कडा हुने स्पष्ट पारेको छ ।
महासंघले सार्वजनिक गरेको पहिलो चरणको कार्यक्रमअनुसार आगामी भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइनेछ । त्यसपछि भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टासम्म प्रतिनिधिमूलक धर्नामा बस्ने कार्यक्रम तय गरिएको छ ।
यस्तै, भदौ १३ गते सबै स्थानीय तह (पालिका) मा र भदौ १५ गते सबै जिल्लास्तरीय समन्वय इकाईमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टासम्म धर्ना दिने कार्यक्रम घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । उनले सरकारसँग भएको सहमति तोडिएको भन्दै अब आन्दोलन दबाबपूर्ण र सशक्त बनाइने चेतावनीसमेत दिए ।
महासंघले भदौ २१ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । उक्त चरणमा अवरोधात्मक कार्यक्रम, विरोध प्रदर्शनलगायत थप कडा गतिविधि ल्याइने तयारी भएको अध्यक्ष सुवेदीको भनाइ छ ।
शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछि यसप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले आफ्नो धारणा सार्वजनिक गरेको हो । महासंघका नेताहरूका अनुसार सरकारले बारम्बार गरेका प्रतिबद्धता पूरा नगरेकाले आन्दोलनको विकल्प बाँकी नरहेको हो ।



















