
विराटनगर । बढ्दो साइबर अपराध नियन्त्रण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरको ग्रिनल्याण्ड कलेजका कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिइएको छ ।
प्रशिक्षण कार्यक्रममा विद्यार्थीलाई सामाजिक सञ्जाल, इमेल, अनलाइन कारोबारलगायत इन्टरनेट प्रयोगका क्रममा अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी दिइएको थियो ।
समुदायमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रहरी निरीक्षक अप्रिल चापागाईंले प्रशिक्षण दिँदै पछिल्ला दिनमा तीव्र रूपमा बढ्दै गएको साइबर अपराध नियन्त्रणका लागि सचेतता पूर्वक इन्टरनेट प्रयोग अनिवार्य रहेको बताए ।
उनले व्यक्तिगत पासवर्ड सुरक्षा, डिजिटल डाटा संरक्षण, ठगीबाट जोगिने उपाय तथा अनलाइनमा हुने असुरक्षित गतिविधिबाट बच्ने व्यावहारिक तरिका प्रस्तुत गरे ।
‘साइबर अपराध नियन्त्रणका लागि कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन, जनचेतना, शिक्षा र प्रविधि प्रयोगमा सजगता पनि आवश्यक छ,’ निरीक्षक चापागाईंले बताए ।
ग्रिनल्याण्ड कलेजका प्रिन्सिपल दिनेश दाहालले विद्यार्थीहरूलाई प्राप्त भएको यो प्रशिक्षणले उनीहरूलाई सुरक्षित डिजिटल नागरिक बन्ने मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।
उनले कलेजमा किताबी ज्ञान मात्र होइन, जीवन उपयोगी शिक्षा पनि दिन्छौँ, जसले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउने बताए ।
सो अवसरमा कलेजका अध्यक्ष रवीन्द्र घिमिरे, सञ्चालक रोशन मेहता, शिवरत्न साहसहित २ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।



















