
विराटनगर । नेपालमा शिक्षकहरूको हकहितका लागि काम गर्ने संस्था माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन)ले विद्यालय शिक्षा विधेयकको केही प्रावधानकाे विराेधमा विराटनगरमा प्रदर्शन गरेकाे छ ।
विधेयकमा रहेका केही प्रावधानहरूप्रति असहमति जनाउँदै शनिबार विराेध प्रदर्शन गरेकाे हाे ।
विराेधसभामा केन्द्रीय सदस्य राजु तिमल्सिनाले नयाँ शिक्षा ऐनमा २० वर्षदेखि माध्यमिक विद्यालयको दोस्रो श्रेणीमा कार्यरत शिक्षकलाई तेस्रो श्रेणीमा घटुवा गर्ने प्रस्ताव गरिएको भन्दै आपत्ति जनाए ।
प्रदेश सचिव शरद चन्द्र दाहालले तत्कालीन उच्च माध्यमिक विद्यालय र अन्य अस्थायी शिक्षकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याएर उनीहरूको सेवाको ग्यारेन्टी गर्न माग गरे ।
जिल्ला उपाध्यक्ष मणिराज लिम्बुले सरकार र शिक्षक महासंघले पहिले भएका सहमतिहरूलाई बेवास्ता गर्न खोजेको गुनासो गरे ।
जिल्ला अध्यक्ष तुलसी खतिवडाले शिक्षक महासंघले आफूहरूलाई धोका दिएको भन्दै नसच्चिएसम्म कुनै पनि सहकार्य नहुने स्पष्ट पारे ।
जिल्ला कोषाध्यक्ष होमनाथ न्यौपाने र निवर्तमान अध्यक्ष कैलाश दाहालले तत्कालीन उच्च माध्यमिक विद्यालयका शिक्षकहरूलाई माध्यमिक विद्यालयको दोस्रो श्रेणीको व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।

























