३ महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्ने मन्त्री पुनको चेतावनी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन ७, मंगलबार १९:१६
mahabir

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ३ महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा मन्त्री पुनले केही काम तुरुन्त अगाडि बढाउन ३ वटा साना निर्देशन दिएको उल्लेख गर्दै यस्तो चेतावनी दिएका हुन् । मन्त्री पुनका अनुसार केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म समय लगाउँछन् ।

Advertisement

यसले विद्यार्थीहरूलाई अपूरणीय क्षति पुर्याउने उनको बुझाइ छ । त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिइने उनले उल्लेख गरे ।

‘समयमा परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिनेछ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको करिब ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्ने गरेको छ,’ पुनले भने ।

त्यसैगरी, मन्त्री पुनले देशभरका सामुदायिक माध्यमिक विद्यालयमध्ये हरेकमा १ जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा थप्न निर्देशन दिएका छन् । उनका अनुसार यसले विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित हुन पर्दैन ।

साथै, मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र ठूला रुखहरू नकाटिकन विशाल क्षेत्रको झाडी फाँडेर सफा गरी सुन्दर बगैँचा र फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.