
विराटनगर । विराटनगरका ‘डे ड्रिम विराटनगर’ कार्यक्रम सुरु भएको छ । विराटनगरको अरनिको कलेजको ह्याक क्लबले आयोजनामा गरेको ‘डे ड्रिम विराटनगर’ कार्यक्रम अन्तर्गत २ दिने ‘टिन ह्याकाथन’ आइतबारदेखि सुरु भएको हो ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका ३० भन्दा बढी कलेजका २५० विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, कार्यक्रमका लागि अनलाइनमार्फत ५ सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए । छनोट भएका २५० जना विद्यार्थीहरूबाट ३–३ जनाको ४० वटा टिम निर्माण गरिएको छ ।
यी टिमले अब २४ घण्टाभित्र आयोजकले प्रदान गरेको ‘थिम’मा आधारित भएर आ–आफ्नो प्रोजेक्ट तयार गर्नेछन् ।
यस ह्याकाथनमा उत्कृष्ट हुने टिमहरूलाई पुरस्कृत गरिनेछ । प्रथम हुने टिमले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सहभागीहरूका लागि खाना र बसोबासको निःशुल्क व्यवस्था गरिएको छ भने सबै सहभागीले टिसर्ट, स्टिकर जस्ता उपहारहरू पनि पाउने छन् ।
कार्यक्रमको निर्णायक मण्डलमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विभागीय प्रमुख पुकार कार्की, एम्स कलेजका प्रिन्सिपल प्रशान्त पोखरेल, उद्योग संगठन मोरङका निर्देशक चूडामणि भट्टराई र विराट मल्टिपल क्याम्पसका आइटी प्रमुख सुशान्त भट्टराई रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयश प्याकुरेल रहेका थिए ।
कार्यक्रममा बोल्दै अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीले यस्ता कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा ठुलो सहयोग पुर्याउने र उनीहरूका लागि यस्तो मञ्च अत्यावश्यक रहेको बताए ।
यो कार्यक्रम नेपालकै सबैभन्दा ठुलो टिन ह्याकाथनु मध्ये एक भएको र यसले युवा इनोभेटरहरूलाई विश्वव्यापी अवसरहरूसँग जोड्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।

























