कान्तिपुर कलेजद्वारा सिए अभिमुखीकरण कार्यक्रम 

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १९:२६
कान्तिपुर कलेजद्वारा सिए अभिमुखीकरण कार्यक्रम 

विराटनगर । शैक्षिक उत्कृष्टताको पहिचान बनाइरहेको विराटनगरको कान्तिपुर कलेजले आफ्ना विद्यार्थीहरूलाई चार्टर एकाउन्ट (सिए) सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।

कलेजले नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान) सँगको सहकार्यमा एक दिने सिएसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

विराटनगरमा बिहीबार भएको सिए शिक्षाको परामर्शात्मक कार्यक्रममा कान्तिपुर कलेजका शिक्षक तथा छात्रछात्राहरूले आफ्ना जिज्ञासा प्रस्तुत गरेका थिए । उनीहरूले सिए अध्ययन, भर्ना प्रक्रिया तथा भविष्यका अवसरसम्बन्धी जिज्ञासा राखेका थिए ।

अन्तरक्रियात्मक कार्यक्रममा आइक्यानका सिए युवराज उप्रेती, शाखा अधिकृत जेबी भुटिया र वन्दना थापाले सहजीकरण गरेका थिए । उनीहरूले सिए भर्ना प्रक्रिया, नेपालमा सिएतर्फको दक्ष जनशक्तिको अवस्था र उनीहरूको भविष्यलगायत विषयमा विद्यार्थीहरूलाई प्रस्ट पारे ।

कार्यक्रममा कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपालले स्थापना कालदेखि वर्तमान समयसम्म कान्तिपुरबाट सिए उत्तीर्णका साथै सिए अध्ययन गरिरहेका विद्यार्थीहरूका बारेमा प्रकाश पारेका थिए ।

विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन संकायमा अध्यापन हुने कान्तिपुरले दक्ष जनशक्ति उत्पादन, सिपमूलक सिकाइमा जोड, प्रयोगात्मक शिक्षामा अग्रसरता देखाएको कारणले नै प्रत्येक वर्षको नतिजाहरूमा कोशी प्रदेशकै सर्वोत्कृष्टता प्राप्त गर्दै आइरहेको छ ।

विशेषगरी विज्ञान संकायमा कलेजले प्रयोगात्मक अध्ययन, अनुभवी शिक्षकहरू, अन्तरक्रियात्मक पठनपाठन र प्रविधिमैत्री शैक्षिक वातावरणद्वारा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै आएको छ ।

आधुनिक विज्ञान प्रयोगशाला, अनुसन्धानमुखी पाठ्यक्रम र निरन्तर परामर्शद्वारा कलेजले देशको शिक्षा प्रणालीमा उदाहरणीय स्थान कायम राखेको छ ।

कार्यक्रममा कान्तिपुर कलेजका  कोअर्डिनेटर रोशन राजवंशी,  निर्देशक विष्णु दाहाल, जेबी मगर तथा इडेनबर्ग कलेजका क्याम्पस प्रमुख डिके साह र शिक्षक टेकेन क्षेत्रीको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.