
विराटनगर । विराटनगरको बालकल्याण विद्यामन्दिर (बिकेभिएम)ले ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
बिकेभिएमले वार्षिकोत्सव तथा अभिभावक दिवस २ दिन (शनिबार र आइतबार) स्कुल परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ । पहिलो दिन (शनिबार) आयोजित कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, सिर्जनात्मक प्रदर्शन तथा शिक्षक सम्मान गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविन दाहालले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै विगत ४ दशकभन्दा लामो शैक्षिक यात्रामा अभिभावकहरूले दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।
उनले विद्यालयको सकारात्मक वातावरणले विद्यार्थी तथा युवाहरूको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै शैक्षिक उपलब्धिसँगै सामाजिक दायित्वबोध गराउन विद्यालय सफल हुँदै आएको उल्लेख गरे ।
प्रधानाध्यापक दाहालका अनुसार विद्यालयले बालबालिकालाई शिक्षासँगै सूचना प्रविधि, खेलकुद, गीतसंगीत तथा एनसीसी तालिममा समेत सक्रिय रूपमा सहभागी गराउँदै आएको छ ।
दुई दिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन शनिबार कक्षा ७ सम्मका विद्यार्थीले लोक संस्कृति, राष्ट्रियता झल्काउने, आधुनिक तथा विदेशी गीतसंगीतमा आकर्षक नृत्य प्रस्तुत गरे । विश्वकप फुटबलको थिम गीत ‘वाका–वाका’मा नृत्य गरेकी कक्षा ४ मा अध्ययनरत रसु अधिकारीले विद्यालयका कार्यक्रमहरूले आफूलाई थप उत्साहित बनाएको बताइन् ।

रसुकी आमा सरू अधिकारीले विद्यालयको शैक्षिक वातावरण सुखद रहेको उल्लेख गर्दै परीक्षा नतिजा र अतिरिक्त क्रियाकलापले अभिभावकहरू सन्तुष्ट भएको बताइन् ।
कार्यक्रममा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न सामग्रीको समेत प्रदर्शनी गरिएको थियो । साथै विद्यालयमा २० वर्षसम्म अध्यापन गराएका ७ जना शिक्षक शिक्षिकालाई विद्यालयका संस्थापक चिरञ्जीवी दाहाल र प्रधानाध्यापक दाहालले सम्मान गरेका थिए ।
कार्यक्रमको उद्घाटन विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले गरेका थिए । विद्यालयका अनुसार आइतबार कक्षा ७ देखि १२ सम्मका विद्यार्थीको विविध प्रस्तुति रहने छ । हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

























