
काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिल कार्यालयलाई स्वीकृति दिएको छ ।
महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ताको प्रक्रियामा जानेछ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले सहकारी ठगीको मुद्दा यथावत् राखेर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने गरी आरोप पत्र संशोधन गर्ने स्वीकृत दिइएको बताइन् ।
बुधबार अभियोग पत्र संशोधन गर्न स्वीकृत दिने निर्णय भएसँगै जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ । रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराधको मुद्दा पनि फिर्ता हुनेछ ।



















