
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय स्थापनामा महत्वपूर्ण योगदान पुर्याउने पूर्व शिक्षक सभापति लालदास कर्णको स्मृति ग्रन्थ प्रकाशन गरिएको छ । परिवारको सहयोगमा विद्यालयले प्रकाशन गरेको उक्त ग्रन्थमा पञ्चायतकालीन कठिन समयमा समेत शिक्षाको उज्यालो छर्न उनले गरेको संघर्ष र प्रयासको कथा समेटिएको छ ।
झोराहाटमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, नेकपाका नेता अमनलाल मोदी, पूर्व सांसद पवन कुमार शारडा, उद्योगी महेश जाजू, कोसी प्रदेश सभा सदस्य गणेश उप्रेती र प्राध्यापक अमृत आचार्यले संयुक्त रूपमा पुस्तक विमोचन गरे ।
स्मृति ग्रन्थमाथि टिप्पणी गर्दै प्राध्यापक आचार्यले पञ्चायत कालमा विद्यालय खोल्नु निकै चुनौतीपूर्ण रहेको स्मरण गरे । उनले सभापति लालदासकै पहलमा पहिले प्राथमिक र पछि माध्यमिक विद्यालय स्थापना भएको बताए । तत्कालीन समयमा इन्द्र शमशेर राणाले भारतको दरभंगाबाट लालदासलाई झोराहाट ल्याएका थिए भने स्थानीय केशव निरौलाको परिवारले उनको बस्ने प्रबन्ध मिलाएको थियो । सोही परिवारकी सरस्वता निरौलाले दान दिएको १० कठ्ठा जग्गामा छाप्रोबाट विद्यालयको यात्रा सुरु भएको इतिहास ग्रन्थमा उल्लेख छ ।
गणित विषयका विज्ञ लालदासले आफ्नो जीवनकालमा धेरै विद्यार्थीलाई निःशुल्क ट्युसन पढाएका थिए । विद्यालयमै बसेर आफैँ विद्यार्थी खोज्न जाने र उनीहरूलाई पढ्ने बानी बसाल्ने काम उनले गरेको आचार्यले सुनाए । आज सो विद्यालयमा पढेका विद्यार्थीहरू विश्वका विभिन्न स्थानमा पुगिसकेका छन् ।
कार्यक्रममा कांग्रेस महामन्त्री घिमिरेले तत्कालीन समयमा शिक्षा दिलाउने सोच राख्नु नै ठूलो संघर्ष भएको बताए । नेकपा नेता मोदीले ग्रामीण भेगको अन्धकार हटाउन लालदासले गरेको योगदान पुस्तौँसम्म सम्झिरहिने उल्लेख गरे । उद्योगीद्वय शारडा र जाजूले यस्ता सामाजिक कार्यले नै मानिसलाई सदैव जीवन्त राख्ने धारणा राखे ।
लालदासका छोरा विवेक कर्णले समाजमा योगदान दिए पनि नयाँ पुस्तालाई यसबारे जानकारी नभएकाले अनुसन्धान गरेर ऐतिहासिक दस्तावेज तयार पारेको बताए । विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद गुरागाईं र कवि भरत गुरागाईंले झोराहाटको शैक्षिक विकासमा लालदासको भूमिका उदाहरणीय रहेको चर्चा गरे । यस ग्रन्थको सम्पादन पूर्व शिक्षक गायत्री कुमार चापागाईं, विवेक कर्ण र शान्ता कर्णले गरेका हुन् ।



















