
इलाम । इलामको सूर्योदय नगरपालिका–१३ स्थित ज्योति माध्यमिक विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक वितरण गरेको छ। विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच करिब ३८ हजार रुपैयाँ बराबरको पोसाक विद्यार्थीहरूलाई प्रदान गरिएको हो।
यो परोपकारी कार्यका लागि शिक्षक–अभिभावक संघका अध्यक्ष सोमप्रसाद कट्टेल र स्थानीय अभिभावक घनश्याम कटेलले आर्थिक सहयोग उपलब्ध गराएका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम चाम्लिङ राई, प्रवीन बिसीसहित विद्यालयका पदाधिकारी, शिक्षक र अभिभावकहरूको उपस्थितिमा पोसाक वितरण गरिएको थियो।
शिक्षक दीपक पौडेलका अनुसार विद्यालयले कपडा निःशुल्क उपलब्ध गराए पनि सिलाइ खर्च भने अभिभावकहरूसँग साझेदारी गरिएको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर अभिभावकहरूलाई ठूलो आर्थिक भार नपर्ने र सबै विद्यार्थीमा एकरुपता कायम हुने विश्वास विद्यालयले लिएको छ।
विद्यालयले कक्षा १ देखि ५ सम्मका लागि आरुफूले रङको सर्ट र खैरो पाइन्टलाई आधिकारिक पोसाक निर्धारण गरेको छ। यही पोसाकलाई आगामी शैक्षिक सत्रदेखि कक्षा ६ देखि १० सम्म पनि अनिवार्य बनाउने तयारी भइरहेको छ। कक्षा ११ र १२ का विद्यार्थीका लागि भने गत वर्षदेखि नै कोट र पाइन्टको व्यवस्था गरिसकिएको शिक्षक पौडेलले जानकारी दिए।
सामुदायिक विद्यालयको छुट्टै पहिचान बनाउने, विद्यार्थीमा उत्साह थप्ने र विपन्न अभिभावकलाई राहत दिने उद्देश्यले यो अभियान सुरु गरिएको दाताद्वय सोमप्रसाद कट्टेल र घनश्याम कट्टेलले बताए।

























