
विराटनगर । विराटनगरको मोर्डन एरा स्कुलले आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस २ दिने विशेष कार्यक्रमको आयोजना गरेर मनाउँदै छ । स्कुलले शुक्रबार र शनिबार विशेष कार्यक्रमको आयोजना गरेर रजत जयन्ती तथा अभिभावक दिवस मनाएको हो ।
स्कुलको रजत जयन्ती तथा अभिभावक दिवसको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यार्थीहरूमा केवल किताबी ज्ञान मात्र नभई व्यावहारिक सीपको आवश्यकता रहेको बताए । उनले भने, ‘सीप विनाको सर्टिफिकेटको कुनै काम छैन । अब विद्यार्थीहरूको रुचि अनुसारको सीपयुक्त शिक्षाको आवश्यकता रहेको छ । हातमा सीप छैन भने सर्टिफिकेटले मात्रै केही हुँदैन । अब सबैले पुरानो सोचबाट बाहिर निस्किएर नयाँ ढंगले हिँड्न पर्छ ।’
विद्यार्थीले आफ्नो रुचि भएको क्षेत्र पहिचान गरेर अघि बढ्नु पर्छ । उनले मोर्डन एराले शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि विराटनगरमा छुट्टै पहिचान बनाएको भन्दै खुसी व्यक्त गरे ।

विद्यालयका प्रिन्सिपल इन्द्र राईले निरन्तरको परिश्रम र अभिभावकको विश्वासले विद्यालय आजको उचाइमा पुगेको बताए । पीजीदेखि स्नातक तहसम्म पठनपाठन हुने यस विद्यालयमा विद्यालय तहमा ९५० र कलेजतर्फ ३ सय ५० गरी कूल १३ सय विद्यार्थी अध्ययनरत रहेको उनले सुनाए ।
प्रिन्सिपल राईले विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि ‘मोर्डन एरा लिटिल च्याम्स’ जस्ता रियालिटी शो समेत सञ्चालन गर्दै आएको बताए ।
गोविन्द निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विश्वविद्यालयबाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका प्रजता बस्नेत, विश्वास खतिवडा, निरज रेग्मी, नवराज न्यौपाने, आशिष श्रेष्ठ, विन्धी शर्मा चापागाईं र सुवास बुढाथोकीलाई सम्मान गरिएको थियो । स्कुलको रजत जयन्ती तथा अभिभावक दिवसमा विद्यार्थीले नृत्य, गायन र कविता वाचनमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए ।


























