‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ शनिबार हुँदै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३, मंगलबार ०९:२६
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ शनिबार हुँदै 

इटहरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना हुन लागेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

यही चैत ७ गते शनिबार इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा कोशी एक्सिलेन्स अवार्ड प्रदान गर्ने आयोजक संस्था नयन मिडिया फाउन्डेसनले जनाएको छ ।

Advertisement

यस वर्षको अवार्ड समारोहलाई अझ विशेष बनाएको नयन मिडिया फाउन्डेसनका प्रमुख कार्यकारी निर्देशक माधव सुवेदीले जानकारी दिए । उनका अनुसार कार्यक्रमलाई सहभागीमैत्री र व्यवस्थित बनाउन सोल्टी वेस्टेन्डसँगको साझेदारीले अवार्ड समारोहलाई थप स्तरीय तथा स्मरणीय बनाउने विश्वास लिइएको छ ।

समारोहमा विभिन्न १६ विधामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गरिने छ । जसमा कृषि तथा फार्मिङ इनोभेसन, बैंकिङ तथा फाइनान्सियल सर्भिस, कर्पोरेट बिजनेस लिडरसिप, शिक्षा, स्वास्थ्य, साहित्य, मिडिया, सामाजिक कार्य, खेलकुद, स्टार्टअप, प्रविधि, पर्यटन, अटोमोबाइल, संगीत तथा क्यापिटल मार्केटलगायतका क्षेत्र समेटिएका छन् ।

यस समारोहमा ५ सयभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको बताइएको छ । कोशी प्रदेशमा नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वमा दीर्घकालीन योगदान दिनेहरूलाई पहिचान गरी प्रोत्साहन गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

फाउन्डेसनका अध्यक्ष पवन अधिकारीका अनुसार कार्यक्रमको करिब ८० प्रतिशत तयारी पूरा भइसकेको छ । निर्वाचन आचारसंहिताका कारण केही समय मिति सारिए पनि अहिले सबै व्यवस्थापन अन्तिम चरणमा पुगेको उनले बताए ।

यस कार्यक्रमलाई गरिमामय बनाउन निर्णायक समितिको संयोजकमा संविधानसभा सदस्य पवन सारडा र मुख्य सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी रहेका छन् ।

यो कार्यक्रम सरकारको ‘कोशी पर्यटन वर्ष २०८२’ को तयारीसँग समेत जोडिएको छ । यसले प्रदेशको पर्यटन र व्यापारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्न सघाउ पुर्‍याउने आयोजकको विश्वास छ ।
कार्यक्रममा सहभागी हुन इच्छुकहरूका लागि क्युआर कोडमार्फत अनलाइन रजिस्ट्रेसनको व्यवस्था गरिएको छ भने विशेष परिस्थितिमा तत्कालै दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

दोस्रो संस्करणका रूपमा आयोजना हुन लागेको यो अवार्डले कोशी प्रदेशको गौरव र सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.