
काबुल। अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूको उपचार गर्ने एक अस्पतालमा पाकिस्तानले सोमबार राति भीषण हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा परी कम्तीमा ४०० जनाको मृत्यु भएको अफगान अधिकारीहरूले दाबी गरेका छन्। स्थानीय समयअनुसार राति करिब ९ बजे भएको सो आक्रमणले २,००० शय्या क्षमताको अस्पतालको ठुलो हिस्सा ध्वस्त बनाएको छ।
अफगानिस्तानका उपसरकारी प्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समार्फत घटनाको पुष्टि गर्दै आक्रमणमा परी करिब २५० जना घाइते भएको जानकारी दिए। स्थानीय टेलिभिजनहरूले सार्वजनिक गरेका दृश्यहरूमा सुरक्षाकर्मी र उद्धार टोलीहरूले टर्चलाइटको सहायताले भग्नावशेषबाट घाइतेहरूको उद्धार गरिरहेको र अग्नि नियन्त्रकहरू आगो निभाउन सङ्घर्ष गरिरहेको देखिएको छ। प्रवक्ता फितरतका अनुसार अहिले पनि शव निकाल्ने र आगो नियन्त्रण गर्ने कार्य जारी छ।
यता पाकिस्तानले भने अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ। पूर्वी अफगानिस्तानका विभिन्न क्षेत्रमा गरिएका आफ्ना सैन्य कारबाहीहरूले कुनै पनि गैरसैनिक वा नागरिक क्षेत्रलाई लक्षित नगरेको पाकिस्तानको दाबी छ।
दुई छिमेकी मुलुकबीच वर्षौंपछिको यो सबैभन्दा घातक भिडन्त तेस्रो हप्तामा प्रवेश गरेको छ। अस्पतालमा हवाई आक्रमण हुनु केही घण्टा अघि मात्र सीमा क्षेत्रमा दुवै पक्षबीच गोली हानाहान हुँदा अफगानिस्तानतर्फ चार जनाको ज्यान गएको थियो।
अफगान सरकारले यस घटनाको कडा शब्दमा निन्दा गरेको छ। पाकिस्तानले आतङ्क मच्चाउनका लागि नियतवश अस्पताल र नागरिक स्थलहरूलाई निशाना बनाएको आरोप अफगान पक्षले लगाएको छ।



















