
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुको अभिमुखीकरण कार्यक्रमको बुधबार दोस्रो दिन हो । ललितपुरको होटल टुलिपमा योग ध्यान सत्रसँगै दोस्रो दिनको अभिमुखीकरण सुरु भएको छ ।
पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य राख्ने छन् । उनको मन्तव्यसँगै अभिमुखीकरण समापन हुनेछ । अभिमुखीकरणमा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, बजेट तथा कानुन निर्माण र निर्वाचन क्षेत्रसँग प्रभावकारी सम्बन्ध निर्माणसम्बन्धी प्रशिक्षण दिइँदैछ ।
दोस्रो दिनको कार्यक्रमअनुसार बिहान ९–९ः४५ बजे पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया र बजेट निर्माणको विषयमा प्रस्तुति दिँदैछन् । ९ः४५–१०ः४५ बजे अर्का पूर्वसचिव प्रतापकुमार पाठकले ‘सुशासन अवधारणा र अभ्यास’मा प्रशिक्षण दिनेछन् ।
त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले पार्टी र सांसदको सम्बन्ध, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धताका विषयमा प्रस्तुति दिनेछन् । मध्याह्न १२ बजेपछि समूह कार्य र एजेण्डा प्राथमिकता निर्धारणको प्रस्तुति हुने छ ।
अन्त्यमा सांसद प्रतिनिधि प्रशान्त उप्रेती र खिमा विकको धन्यवाद मन्तव्यपछि सभापति लामिछानेले पार्टीको रणनीति र नीतिगत प्राथमिकताका बारेमा मन्तव्य दिँदै कार्यक्रमलाई समापन गर्नेछन् । कार्यक्रम दिउँसो १ बजे समाप्त गर्ने तयारी छ ।



















