तीव्र हावाहुरीको चेतावनीपछि कोशी प्रदेशमा उच्च सतर्कता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ६, शुक्रबार १७:१५

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा शनिबार शक्तिशाली हावाहुरी, वर्षा, असिना र चट्याङको उच्च जोखिम देखिएपछि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहहरूले व्यापक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार प्रि–मनसुन सक्रिय भएसँगै विशेषगरी मोरङ, सुनसरी र धनकुटा आसपासका क्षेत्रमा प्रतिघण्टा झण्डै ११९ किलोमिटर वेगसम्मको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ । मोरङ जिल्लामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गर्दै सर्वसाधारणलाई अत्यन्तै सतर्क रहन आग्रह गरेको छ ।

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम औँल्याइएको छ । पछिल्ला दिनमा देशका विभिन्न स्थानमा यस्तै हावाहुरीका कारण मानवीय क्षति भइसकेको सन्दर्भ उल्लेख गर्दै प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन विशेष अनुरोध गरेको छ ।

प्रशासनले हावाहुरी चलिरहेका बेला घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू सुरक्षित रूपमा बन्द गर्न, सवारीसाधन चलाइरहेका अवस्थामा तुरुन्तै सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ । साथै, भिडभाड भएको स्थानमा भागदौड नगरी सावधानीपूर्वक सुरक्षित स्थानतर्फ सर्न, अग्ला रुख, कमजोर संरचना, टेलिफोन तथा बिजुलीका खम्बा र तारमुनि नबस्न तथा लत्रिएका विद्युत् तार नछुन चेतावनी दिइएको छ । यस्तो समयमा विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन पनि प्रशासनले आग्रह गरेको छ ।

उता सुनसरीको धरान उपमहानगरपालिकाले पनि समान प्रकृतिको चेतावनी जारी गर्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाको हस्ताक्षरमा जारी सूचनामा शनिबार धरान, विराटनगर, धनकुटा लगायतका क्षेत्रमा तीव्र हावाहुरीसँगै वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ । हावाको गति ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने भएकाले कमजोर संरचना भत्किने, घरका छाना उड्ने र विद्युत् तथा सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम औँल्याइएको छ ।

धरान उपमहानगरपालिकाले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, हावाहुरीका बेला झ्यालढोका मजबुत रूपमा बन्द गर्न, अग्ला रुख तथा जोखिमयुक्त स्थानबाट टाढा रहन र सवारीसाधन सुरक्षित स्थानमा राख्न अनुरोध गरेको छ । त्यसैगरी बिजुलीका खम्बा, तार तथा अग्ला संरचनाबाट टाढा रहन, विद्युतीय उपकरण प्रयोग नगर्न र कुनै आपत्कालीन अवस्था आएमा सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

धनकुटामा पनि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेर सूचना जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार धनकुटा, धरान र विराटनगर लगायत कोशी प्रदेशका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्को जोखिम औँल्याएपछि सबै सरोकारवाला निकाय जनचेतना अभिवृद्धिका लागि सक्रिय छन् । बजार तथा आसपासका क्षेत्रमा माइकिङ गरिएको छ ।

चट्याङ पर्ने सम्भावना उच्च रहेकाले खुला ठाउँ, खेतबारी, डाँडा तथा अग्ला स्थानमा नबस्न र बिजुलीको पोल वा टावर नजिक नजान प्रहरीले सुझाव दिएको छ । सम्भव भएसम्म घरभित्र सुरक्षित स्थानमा बस्न, विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन र हावाहुरीको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरिएको छ । साथै, सवारीसाधन चलाउँदा विशेष सतर्कता अपनाउन चालकहरूलाई सचेत गराइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका अधिकांश क्षेत्रमा शनिबार तीव्र हावाहुरीसँगै मेघगर्जन, वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाएको छ । बदलिँदो मौसम प्रणालीका कारण केही दिनसम्म यस्तै अस्थिर मौसम रहने संकेत गर्दै महाशाखाले जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताएको छ ।

कोशी प्रदेशका १४ वटै जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जनाएको छ । सम्भावित विपद्‌को सामना गर्न उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति र साधन तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा शुक्रबार तीव्र हावाहुरीसँगै वर्षा र हिमपात भएको छ । चितवन, दाङ, नेपालगञ्ज लगायतका तराई क्षेत्रहरूमा पनि तीव्र हावाहुरी चलेको छ । जसबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

पछिल्ला दिनहरूमा देशका विभिन्न भागमा हावाहुरीका कारण मानवीय तथा भौतिक क्षति बढेसँगै यसपटकको चेतावनीलाई गम्भीर रूपमा लिन सरोकारवाला निकायहरूले आग्रह गरेका छन् । पूर्वतयारी र सावधानी अपनाउन सके सम्भावित जोखिमबाट बच्न सकिने जनाइएको छ ।

सम्भावित जोखिमका विषयमा शुक्रबार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शुक्रबार सरोकारवाला निकायको बैठकसमेत बसेको छ । बैठकमा सबैलाई सावधानी अपनाउन आग्रह गर्ने, सुरक्षाकर्मी र स्थानीय तहसहित सबै सरोकारवाला निकायलाई तयारी अवस्थामा राख्ने र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर प्रचारप्रसारलाई तीव्र पार्ने विषयमा छलफल भएको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले मौसमजन्य विपद्लाई ध्यानमा राखेर सबै निकाय चनाखो रहेहको बताए । सम्भावित विपद्पछिको उद्धार र रातहका लागि सबै पक्षलाई तयारी अवस्थामा राखिएको जानकारी उनले दिए । ‘मन्त्रालयले मौसमजन्य विपद्को प्रतिकार्य योजना तयार पारेको छ । त्यही अनुसार सबै निकायको समन्वयमा काम हुनेछ,’ मन्त्री पराजुलीले भने ।

मन्त्री पराजुलीले विशेषगरी खुला ठाउँ, अग्ला रुख, बिजुलीका पोल र टावर आसपास नबस्न तथा चट्याङबाट बच्नका लागि सावधानी अपनाउन सबैलाई सुझाव दिएका छन् । पछिल्ला दिनहरूमा देशका विभिन्न भागमा हावाहुरीका कारण क्षति बढिरहेको सन्दर्भमा अहिले चेतावनीलाई गम्भीर रूपमा लिन उनको आग्रह छ । ‘समयमै अपनाइएको सावधानी र तयारीले ठूलो क्षति हुन पाउँदैन,’ मन्त्री पराजुलीले भने, ‘यसमा सबैभन्दा महत्वपूर्ण भूमिका नागरिकको नै हुन्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.