कोशी एक्सिलेन्स अवार्ड : उत्कृष्ट १६ विधामा सम्मान गरिँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ७, शनिबार ०९:३५

इटहरी । कोशी प्रदेशका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्व र संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज (शनिबार) इटहरीमा आयोजना हुँदैछ ।

इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा हुने कार्यक्रम भव्य तयारीका साथ सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रमका निर्देशक दीपक थापाका अनुसार अवार्ड समारोहमा कोशी प्रदेशभरिका व्यक्तित्व तथा संस्थालाई १६ विधामा अवार्ड र १० क्षेत्रमा विशेष सम्मान प्रदान गरिनेछ ।

Advertisement

कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, पत्रकारिता, साहित्य, खेलकुद, सूचना प्रविधि, अटोमोबाइल, संगीत, बैंकिङ, इन्सोरेन्स, पुँजी बजार, कर्पोरेट, उद्यमशीलता र स्टार्टअप क्षेत्रका उत्कृष्ट योगदानकर्तालाई सम्मान गर्ने तयारी गरिएको छ । कार्यक्रमको प्रमुख आतिथ्यतामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की रहनेछन् ।

साथै, प्रदेश सरकारका मन्त्री, व्यवसायी, समाजसेवी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने छ । पाँच सयभन्दा बढी सहभागी रहने अवार्ड समारोह प्रदेशकै ठूलो र प्रभावशाली कार्यक्रममा मानिन्छ ।

अवार्ड समारोह कान्तिपुर टेलिभिजन, विराट टेलिभिजन र सप्तकोशी टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुनेछ । मुख्य साझेदार प्रदेशखबर डटकमको फेसबुक पेजबाट पनि लाइभ प्रसारण गरिनेछ । आयोजकले यस कार्यक्रममार्फत कोशी प्रदेशका प्रतिभा, सिर्जनशीलता र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.