जेनजी आन्दोलन दमन प्रकरणमा ओली–लेखकमाथि कानुनी प्रक्रिया अघि बढ्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १५, आइतबार ०६:४५

काठमाडौं । जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक लाई आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

अदालत उपस्थित गराएर जेनजी आन्दोलन दमन प्रकरणमा ओली–लेखकमाथि थप कानुनी प्रक्रिया अघि बढाउन लागिएको हो । उनीहरुलाई प्रहरीले शनिबार बिहान निवासबाटै पक्राउ गरेको थियो । सार्वजनिक बिदा परेकाले उनीहरूलाई शनिबार अदालत लगिएन । अदालत खुलेसँगै पेस गर्ने तयारी प्रहरीको छ ।

Advertisement

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो भने दुई हजार चार सयभन्दा बढी व्यक्ति घाइते भएका थिए । प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, विभिन्न प्रहरी कार्यालय, निजी घर तथा व्यापारिक प्रतिष्ठानमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।

उक्त घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो । सोही प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भएको थियो ।

प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेबाट नियन्त्रणमा लिएको थियो । पक्राउपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा एमाले आन्दोलित बनेको छ । एमालेले आन्दोलतलाई थप सशक्त बनाउने घोषणा गरिसकेको छ । कांग्रेसले पनि पक्राउको विरोध गरेको छ ।

पक्राउपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएका ओलीलाई चिकित्सकको सल्लाहमा त्यहीँ भर्ना गरिएको छ । लेखकलाई महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको छ । प्रहरीका अनुसार दुवैलाई अदालतमा उपस्थित गराएर म्याद थपसहितको कानुनी प्रक्रिया अघि बढाइनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.