एसइई परीक्षा सुरु हुँदै, पाँच लाख १२ हजार बढी परीक्षार्थी

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार ०६:१६

काठमाडौं । देशभर आज (बिहीबार)देखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले थप व्यवस्थित, पारदर्शी र छिटो नतिजा प्रकाशन गर्ने लक्ष्यसहित परीक्षा सञ्चालनको तयारी गरेको छ ।

विगतका वर्षहरूमा देखिएका ढिलासुस्ती, अनियमितता र व्यवस्थापनका कमजोरीलाई सुधार गर्न नयाँ निर्देशिका लागू गरिएकाले यसपटकको परीक्षा प्रणालीमा उल्लेखनीय परिवर्तन देखिने अपेक्षा गरिएको छ । परीक्षा बिहान ८ बजेदेखि देशभरका तोकिएका सबै केन्द्रमा एकैसाथ सुरु हुनेछ ।

Advertisement

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार मर्यादित वातावरणमा परीक्षाका लागि सबै तयारी भइसकेको छ । यस वर्षको एसइई चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

यस वर्ष कुल पाँच लाख १२ हजार ४२१ परीक्षार्थी छन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धि (पूरक) तर्फ ७० हजार ८५५ जना छन् । परीक्षार्थीमध्ये छात्राको संख्या छात्रभन्दा बढी छ ।

विवरणअनुसार दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा छन् । विदेशमा रहेका नेपाली विद्यार्थीका लागि जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जनाले परीक्षा दिनेछन् ।

देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । माध्यमिक तह सञ्चालन हुने ११ हजार ३७९ विद्यालयका विद्यार्थी यस परीक्षामा सहभागी छन् । प्रश्नपत्रहरू जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमार्फत सातै प्रदेशका सम्बन्धित केन्द्रमा सुरक्षित रूपमा पुर्याइसकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा केन्द्रको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । त्यसैगरी एउटा केन्द्रमा एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, प्रत्येक २० परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र थप दुई जना कर्मचारीको व्यवस्था गरिएको छ । यसले परीक्षा सञ्चालनलाई व्यवस्थित र अनुशासित बनाउने अपेक्षा गरिएको छ ।

यस वर्षको सबैभन्दा महत्वपूर्ण परिवर्तन उत्तर पुस्तिका परीक्षणसम्बन्धी व्यवस्थामा गरिएको छ । नयाँ निर्देशिकाअनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । परीक्षणपछि ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा प्रविष्ट गरेर सिलबन्दी खाममार्फत शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्ने प्रावधान राखिएको छ । यसले नतिजा प्रकाशन प्रक्रियालाई तीव्र बनाउने छ ।

परीक्षण प्रक्रियालाई पनि कडाइका साथ नियमन गरिएको छ । परीक्षक र सम्परीक्षकले परीक्षण केन्द्रमै बसेर उत्तर पुस्तिका जाँच गर्नुपर्नेछ । सकेसम्म सीसीटीभी जडान गरिएको सुरक्षित कक्षमा परीक्षणको व्यवस्था गरिएको छ । उत्तरपुस्तिका बाहिर लैजान, अयोग्य व्यक्तिबाट परीक्षण गराउन वा कुनै किसिमको हेरफेर गर्न पूर्ण रूपमा निषेध गरिएको छ । साथै, परीक्षण कक्षमा मोबाइल वा अन्य विद्युतीय उपकरण लैजान नपाइने स्पष्ट व्यवस्था गरिएको छ ।

परीक्षा भएको दिनमै सम्बन्धित परीक्षकलाई उत्तर पुस्तिका बुझाइनेछ । परीक्षणमा लापरबाही वा अनियमितता पाइएमा पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने, परीक्षकको सूचीबाट हटाउनेदेखि लिएर आवश्यक परे कानुनी कारबाहीसम्म गरिने चेतावनी दिइएको छ ।

यस वर्ष अर्को महत्वपूर्ण निर्णयस्वरूप सामूहिक अनुगमनमा रोक लगाइएको छ । विगतमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले अनुगमनका नाममा परीक्षा हलमै प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि यस्तो व्यवस्था हटाइएको हो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेर आवश्यक अनुगमनको व्यवस्था मिलाइएको छ ।

परीक्षाको तालिकाअनुसार पहिलो दिन बिहीबार अनिवार्य अँग्रेजी विषयको परीक्षा हुनेछ । चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम पत्र, २६ गते ऐच्छिक द्वितीय पत्र र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा हुनेछ ।

नयाँ व्यवस्था, कडाइका साथ लागू गरिएको निर्देशिका र प्रविधिको प्रयोगसँगै यस वर्षको एसइईलाई अझ विश्वसनीय, छिटो र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । अब सबैको ध्यान निर्धारित समयमै नतिजा सार्वजनिक हुनेतर्फ केन्द्रित भएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×