
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा दलित समुदायसँग औपचारिक रूपमा माफी मागेको छ। बिहीबारको बैठकलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले विगतका विभेद र अपमानप्रति दुःख व्यक्त गर्दै माफी मागेका हुन्।
सम्बोधनका क्रममा लामिछानेले अबको समयमा कुनै पनि नागरिकले जातका आधारमा अपमानित हुनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास दिलाए। ‘म संसद्बाटै यो प्रतिबद्धता जनाउन चाहन्छु कि अब दलितहरूले जातका नाममा कुनै पनि प्रकारको अपमान व्यहोर्नु पर्नेछैन,’ उनले भने।
सभापति लामिछानेले सामाजिक न्याय र समानताका लागि आफ्नो पार्टी र वर्तमान सरकार गम्भीर रहेको उल्लेख गरे। जातपातका आधारमा हुने विभेदलाई जरैदेखि उखेल्न कानुनी र व्यावहारिक दुवै पक्षबाट कडाइ गरिने उनले बताए। संसद्मा सत्तापक्षबाटै यसरी सार्वजनिक रूपमा माफी मागिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।



















