सार्वजनिक यातायात सुधारका लागि सरकार-व्यवसायी छलफल

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार १६:३०

काठमाडौं । सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, प्रविधिमैत्री र यात्रुमैत्री बनाउने विषयमा सरकारका उच्च अधिकारी र यातायात व्यवसायीबीच विशेष छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित सुशासन महाशाखामा भएको उक्त छलफलमा यातायात क्षेत्रमा व्याप्त बेथिति अन्त्य र सुशासन कायम गर्नेबारे केन्द्रित रहेर संवाद भएको हो।

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौला, सुशासन महाशाखाका सहसचिव भीष्म भुसाल र प्रधानमन्त्री कार्यालयका सचिव दीपक ओलीसहित विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता थियो। बैठकमा व्यवसायीहरूले सार्वजनिक यातायातको सेवामा तत्काल सुधार ल्याउने प्रतिबद्धता जनाएका छन्।

महासंघका कार्यवाहक अध्यक्ष सिटौलाले चालक र सहचालकको व्यवहारमा नम्रता ल्याउन र सवारी साधनलाई सफा राख्न व्यवसायीहरूलाई निर्देशन दिइने बताए। ‘सवारी साधनलाई सधैँ सफा राख्नु व्यवसायीको प्राथमिक जिम्मेवारी हो,’ सिटौलाले भने, ‘चालक र सहचालकले यात्रुसँग गर्ने व्यवहारमा सुधार ल्याउन हामीले विशेष पहल सुरु गरेका छौँ, जसको प्रभाव केही दिनमै देखिनेछ।’ उनले अबदेखि सबै बस र माइक्रोबसमा अनिवार्य रूपमा डस्टबिनको व्यवस्था गरिने जानकारी समेत दिए।

व्यवसायीहरूले यात्रुहरूलाई पनि आफ्नो नागरिक दायित्व निभाउन र गाडीभित्र फोहोर नगर्न आग्रह गरेका छन्। गाडीमा राखिएका डस्टबिनको प्रयोग गर्न र झ्यालबाट फोहोर बाहिर नफाल्न यात्रुहरूलाई अनुरोध गरिएको छ।

छलफलका क्रममा व्यवसायीहरूले वैज्ञानिक भाडादर कार्यान्वयन नभएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छन्। साथै, सार्वजनिक यातायातलाई समयमै गन्तव्यमा पुर्‍याउन ‘पब्लिक गाडी’ का लागि छुट्टै लेनको व्यवस्था हुनुपर्ने माग समेत अघि सारिएको छ। थाइल्याण्ड र सिङ्गापुर जस्ता देशको उदाहरण दिँदै सिटौलाले निजी र सार्वजनिक सवारी एउटै लेनमा गुड्दा समय व्यवस्थापनमा कठिनाइ भएको बताए।

दीर्घकालीन सुधारका लागि ठुला बसहरू सञ्चालन गर्ने र प्रविधिको प्रयोगलाई अनिवार्य गर्ने विषयमा पनि कुराकानी भएको छ। यद्यपि, छोटो समयमै सरकार र कर्मचारी परिवर्तन भइरहँदा नीतिगत काम गर्न बाधा पुगेको गुनासो व्यवसायीको छ। आगामी पाँच दिनपछि पुनः बस्ने बैठकले यी विषयहरूमा थप ठोस निर्णय लिने बताइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.