
काठमाडौं । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले ६ जना पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकको सुरुमा सभामुख अर्जुननरसिंह केसीले पूर्व सांसदहरूको निधनप्रति शोक प्रकट गर्दै प्रस्तुत गरेको प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो।
शोक प्रस्ताव पारित गरिएका पूर्व सांसदहरूमा ऋषिकेश गौतम, मोहम्मद अफताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोरा रहेका छन्। उनीहरूले विभिन्न कालखण्डमा संसद्मा रहेर देश र जनताको सेवामा पुर्याएको योगदानको स्मरण गर्दै बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ।
सभामुख केसीले राखेको उक्त शोक प्रस्ताव पारित भएपछि दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा केही बेर मौन धारण समेत गरिएको थियो। नेपाली राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका यी व्यक्तित्वहरूको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै प्रतिनिधि सभाले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
























