भिड नियन्त्रण मेरो कार्यक्षेत्रमा पर्दैन, गोली चलाउने आदेश दिएको छैन : पूर्वगृहमन्त्री लेखक

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार १६:२५

काठमाडौं। भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिएको छ। अनुसन्धान अधिकृत र सरकारी वकिलले बुधबार साँझ उनीसँग सोधपुछ गरेका हुन्।

बयानका क्रममा लेखकले बानेश्वरमा किशोरहरूको ज्यान जाने गरी गोली चलाउन आफूले कुनै आदेश नदिएको दाबी गरे। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखकलाई ‘ज्यान सम्बन्धी कसुर’ मा मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको थियो। अनुसन्धान अधिकृतहरूले भदौ २३ मा गोली चलाउनुपर्ने परिस्थिति कसरी सिर्जना भयो भन्नेबारे उनलाई प्रश्न गरेका थिए।

Advertisement

लेखकले भिड नियन्त्रण गर्ने विषय गृहमन्त्रीको प्रत्यक्ष कार्यक्षेत्रमा नपर्ने तर्क गरेका छन्। ‘भिड नियन्त्रण मेरो कार्यक्षेत्रमा पर्दैन, यो जिल्ला सुरक्षा समितिले निर्णय गर्ने विषय हो,”‘ उनले बयानमा भनेका छन्, ‘स्थलगत परिस्थिति हेरेर खटिएका सुरक्षा अधिकारीले नै बल प्रयोगको निर्णय गर्छन्, यसमा गृहमन्त्रीले प्रत्यक्ष आदेश दिने अभ्यास छैन।’ उनले प्रहरी महानिरीक्षक (आईजीपी) ले अन्तिम बल प्रयोगका लागि गृहमन्त्रीसँग लिखित वा मौखिक आदेश लिने कुनै कानुनी व्यवस्था र व्यवहारिक चलन नरहेको समेत स्पष्ट पारे।

आफूले आईजीपीलाई गोली प्रहार गर्न आदेश दिएको कुरा अस्वीकार गर्दै लेखकले गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई हताहती नहुने गरी शान्ति सुरक्षा मिलाउन मात्र निर्देशन दिएको बताए। ‘मैले घुसपैठप्रति सतर्क रहन र संसद् भवन जोगाउन निर्देशन दिएको थिएँ, तर गोली प्रहार गर्न भनेको थिइनँ,’ उनले अनुसन्धान अधिकृतहरू समक्ष भनेका छन्। उनले राजनीतिक तहबाट आवश्यक समन्वय र सहजीकरणको जिम्मेवारी मात्र आफूले निर्वाह गरेको दाबी गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.