
काठमाडौं । आगामी चैत २२ गते हुने प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले बिहीबार औपचारिक निर्वाचन तालिका प्रकाशित गरेको छ। पहिलो बैठक सम्पन्न भएसँगै सचिवालयले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो।
सार्वजनिक तालिका अनुसार चैत २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सोही दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म इच्छुक उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराउनुपर्नेछ। दर्ता भएका उम्मेदवारहरूको नामावली सोही दिन दिउँसो २:३० बजे सूचनाको दर्ता क्रमअनुसार प्रकाशित गरिने सचिवालयले जनाएको छ।
त्यसैगरी चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख पदका लागि मतदान हुने कार्यतालिका छ। संसद्मा सबैभन्दा ठुलो दलका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डिपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने अन्य दलहरूले यसबारे औपचारिक निर्णय गर्न बाँकी छ। निर्वाचनपछि निर्वाचित सभामुखले संसद्को आगामी बैठकहरूको अध्यक्षता गर्नेछन्।



















