
काठमाडौं । यातायात व्यवसायीहरूले विद्यार्थीलाई दिँदै आएको भाडा छुट नदिने घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई पत्र लेख्दै कर सहुलियत नपाएसम्म विद्यार्थी छुट कार्यान्वयन नगर्ने अडान लिएको हो । यातायात व्यवस्था विभागले विद्यार्थीलाई अनिवार्य छुट दिन निर्देशन दिएपछि महासंघ आक्रोशित बनेको छ ।
व्यवसायीहरूका अनुसार २०६५ सालमा भएको सहमतिअनुसार उनीहरूले ४५ प्रतिशत छुट दिने र बदलामा राज्यले कर, रुट परमिट र सवारी जाँचपासमा ६० प्रतिशत सहुलियत दिने व्यवस्था थियो । तर, संघीयता लागू भएपछि २०७३ सालदेखि उक्त सहुलियत हटाइएको उनीहरूको दाबी छ ।
महासंघले अहिले संघीय र प्रदेश दुवै सरकारले थप आर्थिक भार थोपरेको आरोप लगाएको छ । महासचिव डेकनाथ गौतमले हस्ताक्षर गरेको पत्रमा कोशी प्रदेशबाहेक अन्यत्र कुनै सहुलियत नपाइएको उल्लेख छ ।
व्यवसायीहरूले ‘सहुलियत बिना सेवा दिन नसकिने’ भन्दै पुरानो व्यवस्था कानुनी रूपमा पुनः लागू नभएसम्म विद्यार्थी छुट नदिने स्पष्ट पारेका छन् । यस निर्णयले विद्यार्थीलाई यात्रामा असहज हुने देखिएको छ ।



















