इच्छाको बन्धनदेखि चेतनाको मुक्तिसम्म     

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार १६:०१
इच्छाको बन्धनदेखि चेतनाको मुक्तिसम्म                                      

जीवनको यात्रामा मानिस प्रायः आफ्नो इच्छा र स्वार्थको जालमा फस्छ । सम्पत्ति, प्रतिष्ठा, सम्मान वा बाह्य सुख–सुविधा प्राप्त गर्ने चाहना लगातार चेतनालाई विचलित पार्छ । तर जब व्यक्ति आफ्नो आत्म केद्रित इच्छाहरूबाट मुक्त हुन्छ, तब मात्र चेतनाको वास्तविक उज्यालो प्रकट हुन्छ ।

मानव जीवनको मूल द्वन्द्व इच्छाको आकर्षण र चेतनाको शुद्धताको बीचमा निहित छ । इच्छा स्वाभाविक रूपमा मानव मनको अभिन्न हिस्सा भए पनि, अनियन्त्रित र अतृप्त इच्छाहरूले व्यक्तिलाई बन्धनमा पार्छन् । यिनै इच्छाहरूले लोभ, मोह, अहंकार र असन्तोषलाई जन्म दिँदै मनलाई अशान्त र अस्थिर बनाउँछन् । फलतः व्यक्ति बाह्य सुखको खोजीमा भतारिन्छ, तर आन्तरिक सन्तोषबाट टाढिँदै जान्छ ।

पूर्वीय दर्शन, विशेषतः भगवद्गीताले इच्छालाई दुःखको प्रमुख कारणका रूपमा व्याख्या गर्दै यसको नियन्त्रण र त्यागमार्फत आत्मिक उन्नतिको मार्ग देखाउँछ । गीता अनुसार, निष्काम कर्म र वैराग्यको अभ्यासले व्यक्तिलाई इच्छाको बन्धनबाट मुक्त गराउँछ । जब व्यक्ति फलको आशा त्यागेर कर्ममा केन्द्रित हुन्छ, तब उसले आफ्नो चेतनालाई शुद्ध र स्थिर बनाउन सक्छ ।

आधुनिक युगमा, जहाँ उपभोक्तावाद र भौतिक आकर्षणले इच्छालाई अझ प्रबल बनाइरहेको छ, चेतनाको मुक्ति झन् चुनौतीपूर्ण देखिन्छ । सामाजिक सञ्जाल, प्रतिस्पर्धा र तुलना संस्कृतिले मानिसलाई निरन्तर असन्तुष्ट बनाइरहेको छ । यस्तो अवस्थामा, आत्म चिन्तन, ध्यान र अनुशासन जस्ता आध्यात्मिक अभ्यासले चेतनाको उज्यालोतर्फ मार्गदर्शन गर्छन् ।
यसरी, इच्छाको बन्धनबाट चेतनाको मुक्तिसम्मको यात्रा केवल त्यागको प्रक्रिया होइन, आत्म बोध र आन्तरिक शान्तिको खोज हो । जब व्यक्ति आफ्ना इच्छाहरूलाई नियन्त्रण गर्न सिक्छ, तब उसले वास्तविक स्वतन्त्रता अनुभव गर्छ । जहाँ मन स्थिर, चेतना उज्यालो र जीवन अर्थपूर्ण बन्छ ।

मानव जीवनको प्राकृतिक प्रवृत्ति इच्छा केंन्द्रित हुन्छ । जन्मदेखि मृत्युसम्म हामी अनेकौं चाहना, आकांक्षा र स्वार्थका मागहरूमा व्यस्त रहन्छौँ । यी इच्छाहरूले जीवनलाई प्रगतिशील बनाउन सक्छन् भने कहिलेकाहीँ मानसिक तनाव, असन्तोष र आत्म–भ्रमको स्रोत पनि बन्न सक्छन् । आधुनिक युगमा भौतिक सम्पत्ति, सामाजिक प्रतिष्ठा र प्रविधिको आकर्षणले मानिसलाई अझ बढी स्वार्थ र लालचमा डुबाइरहेको छ । यसले बाह्य उपलब्धिको खोजमा मानिसलाई व्यस्त बनाउँछ, तर आन्तरिक शान्ति र आत्म बोधको मार्गबाट विचलित गर्छ ।

यस सन्दर्भमा इच्छा त्यागको महत्त्व अत्यन्त गहिरो हुन्छ । इच्छा त्याग  वस्तु वा सुविधा छोड्नु मात्र होइन यो मनको नियन्त्रण, आत्म नियन्त्रण र विवेकको अभ्यास हो । जब व्यक्ति आफ्ना अनावश्यक आकांक्षाहरूबाट मुक्त हुन्छ, तब उसले आफ्नै चेतनाको उज्यालो देख्न थाल्छ । यो उज्यालो बाह्य संसारको प्रकाशभन्दा भिन्न हुन्छ—यो गहिरो आन्तरिक ज्योति हो, जसले मानसिक अशान्ति हटाइ आत्मिक शान्ति, सन्तुलन र स्थायित्व प्रदान गर्छ ।

प्राचीन दर्शन, विशेष गरी भारतीय, बौद्ध र उपनिषद्की शिक्षामा इच्छा त्याग र चेतनाको सम्बन्ध स्पष्ट छ । गीता अनुसार, व्यक्ति जब फलको आशक्ति बिना कर्म गर्छ, तब उसले आफ्नो जीवनलाई उच्चतम अर्थमा उपयोग गर्न सक्छ । बौद्ध धर्ममा ‘त्रिगुणत्याग’ र ‘वैराग्य’को अभ्यासले मानसिक अशान्ति घटाउँछ र स्थायी सुखको अनुभूति गराउँछ । आधुनिक न्यूरोसाइन्स र मनोविज्ञानले पनि ध्यान, योग र ध्यान–अभ्यासले मस्तिष्कको कार्यसम्पादन सुधार गर्ने, तनाव घटाउने र सकारात्मक चेतना विकास गर्ने प्रमाण पाएका छन् ।

आजको तेज गतिमा विश्वले भौतिक उन्नति त देखाएको छ, तर मानसिक तनाव, अवसाद र असहिष्णुताको बढ्दो अवस्था चिन्ताजनक छ । यस समस्याको समाधान  बाह्य साधन वा प्रविधिमा होइन, आन्तरिक चेतना, इच्छा नियन्त्रण र मूल्य–आधारित जीवनशैलीमा निहित छ । जब व्यक्ति इच्छा त्यागको अभ्यास गर्छ, तब उसले मात्र आफ्नै जीवनमा शान्ति ल्याउँछ, वरिपरि रहेको समाजमा सद्भाव र करुणा फैलाउँछ । इच्छा त्याग र चेतनाको उज्यालोबिचको सम्बन्ध जीवनको दिगो विकास र आध्यात्मिक उन्नतिको आधार हो । यो  व्यक्तिगत सन्तोषका लागि होइन, समाज र मानवताका लागि पनि अनिवार्य मार्ग हो । विज्ञान र अध्यात्म दुवैले देखाउँछन् कि आत्म–नियन्त्रण, विवेक र चेतनाको विकासले मानिसलाई साँचो सुख, शान्ति र जीवनको अर्थ प्रदान गर्छ ।

थोरै इच्छा जीवनलाई सक्रिय राख्छ भने अति इच्छा चेतनालाई अस्पष्ट बनाउँछ । जब व्यक्तिले निरन्तर बाह्य वस्तु र परिणामको खोजलाई छोड्छ, तब उसको अन्तर्मन स्वतन्त्र हुन्छ । यही स्वतन्त्र अन्तर्मनले सत्य, न्याय र करुणाको मार्ग देखाउँछ । हिन्दु दर्शनमा ब्रह्मचर्य र कर्मयोगले यही शिक्षालाई पुष्टि गर्छ—“कर्म गर्नुहोस्, फलको आशक्ति त्याग्नुहोस् ।” यसले देखाउँछ कि इच्छारहित कर्मले मात्र चेतनालाई शुद्ध र स्पष्ट बनाउँछ ।

इच्छारहित जीवनले व्यक्तिमा धैर्य, स्थिरता र विवेक पैदा गर्छ । जब मानिस आफ्नो चाहनामा बाँधिँदैन, उसले भावनात्मक प्रतिक्रियामा होइन, विवेकी निर्णयमा केन्द्रित रहन सक्छ । जीवनका विविध परिस्थितिहरू सफलता, असफलता, प्रशंसा वा आलोचना उसलाई विचलित गर्न सक्दैनन् । यस्तो अवस्था मानसिक स्वतन्त्रताको परिचायक हो । यसले व्यक्तिगत सुख शान्ति मात्र होइन, समाजसँगको सम्बन्धलाई पनि सकारात्मक रूप दिन्छ । जब व्यक्ति स्वार्थरहित रूपमा सामाजिक कार्यमा संलग्न हुन्छ, तब समाजमा न्याय, समानता र करुणाको वातावरण निर्माण हुन्छ ।

आध्यात्मिक दृष्टिले, इच्छारहित जीवन चेतनाको स्वच्छता र उज्यालो सुनिश्चित गर्ने माध्यम हो । प्रत्येक इच्छा एक प्रकारको मानसिक ढाँचा हो, जसले चेतनालाई निश्चित सीमा भित्र बाँध्छ । जब यी बन्धनहरू हटाइन्छन्, चेतना स्वतन्त्र हुन्छ । स्वतन्त्र चेतनाले न  व्यक्तिको आत्म विकास सम्भव बनाउँछ, तर समाज र राष्ट्रको हितमा पनि क्रियाशील योगदान पुर्‍याउँछ । यही कारणले महाभारत र भगवद्गीतामा इच्छारहित कर्म र स्वार्थ विहीनता महत्त्वपूर्ण तत्त्वका रूपमा राखिएका छन् ।

नेपालजस्तो सामाजिक र राजनीतिक द्वन्द्वले भरिएको परिवेशमा इच्छारहित चेतनाको अभ्यास अझै महत्त्वपूर्ण हुन्छ । युवा पुस्ताले व्यक्तिगत लाभको खोजमा ध्यान केन्द्रित गर्दा सामाजिक उत्तरदायित्व र नैतिकता पछाडि पर्छ । तर जब चेतनाले इच्छा–मुक्तता पाउँछ, तब न्याय, पारदर्शिता र सत्यको मार्ग स्वतः उद्घाटित हुन्छ । वर्तमान सन्दर्भमा, जहाँ डिजिटल प्रविधि र सामाजिक मिडियाले चेतनामा प्रभाव पार्छ, इच्छारहित दृष्टिकोणले मात्र भ्रम, द्वन्द्व र असमानताको सामना गर्न सक्षम बनाउँछ ।

जहाँ आत्म केंद्रित इच्छा र स्वार्थ हराउँछ, त्यहाँ चेतना मुक्त, उज्यालो र द्रढ बन्छ । चेतनाको उज्यालोले  आन्तरिक शान्ति प्रदान गर्दैन, सामाजिक, नैतिक र आध्यात्मिक जीवनमा पनि मार्गदर्शन गर्दछ । यही कारणले धार्मिक ग्रन्थ, महापुरुषको जीवन र इतिहासले स्पष्ट देखाउँछन् त्यागले चेतनामा प्रकाश ल्याउँछ, र जहाँ चेतनाको प्रकाश फुल्छ, त्यहाँ शान्ति, आनन्द र सृष्टिको कल्याण निश्चित हुन्छ ।

इच्छारहित जीवन  व्यक्तिगत लाभका लागि होइन, समग्र मानव समाजका लागि पनि महत्त्वपूर्ण छ । जब व्यक्ति आफ्नो इच्छाबाट मुक्त हुन्छ, उसले  आफ्नै लाभका लागि होइन, अरूको भलो र समाजको हितका लागि कर्म गर्न थाल्छ । यसरी जन्मिने संवेदनशीलता, करुणा र सहिष्णुताले सामाजिक सम्बन्धलाई सुदृढ बनाउँछ र न्याय, समानता र सहयोगको वातावरण सिर्जना गर्छ । यस दृष्टिकोणले परिवार, समुदाय र राष्ट्रमा स्थायित्व र समृद्धि सुनिश्चित गर्छ ।

आध्यात्मिक दृष्टिले, इच्छारहित जीवन चेतनाको शुद्धता र उज्यालो कायम गर्ने आधार हो । यो  ध्यान, योग वा ध्यानाभ्यासमा सीमित छैन । यो दैनिक व्यवहार, निर्णय प्रक्रिया र सामाजिक अन्तरक्रियामा पनि लागू हुने जीवनदर्शन हो । व्यक्ति जब आफ्नो स्वार्थ र मोह त्याग्छ, तब उसले आत्म निरीक्षण, सकारात्मक सोच र विवेकपूर्ण दृष्टिकोण अपनाउन सक्षम हुन्छ । यो चेतनाको विकासले व्यक्ति मात्र होइन, समाज र राष्ट्रलाई पनि दिगो शान्ति र समृद्धितर्फ अग्रसर बनाउँछ ।

इतिहास र धर्मग्रन्थहरूले इच्छारहित जीवनको महत्त्व बारम्बार उल्लेख गरेका छन् । महाभारत, भगवद्गीता, रामायण र बुद्धका शिक्षाहरूले यही सिद्धान्त प्रस्तुत गर्छन् कि मनको अन्धकार—स्वार्थ, क्रोध, अहंकार र मोह अन्त्य गर्न सकिए मात्र चेतनाको उज्यालो फुल्छ ।

जब मनमा अनावश्यक मोह, लोभ र स्वार्थ हराउँछन्, तब चेतना स्वतन्त्र र स्पष्ट हुन्छ । यस्तो स्पष्ट चेतनाले मानिसलाई विवेकपूर्ण निर्णय लिन, नैतिक मूल्यको पालना गर्न र जीवनका चुनौतीहरूसँग धैर्यपूर्वक सामना गर्न सक्षम बनाउँछ ।

(लेखक: उप्रेती नेपाल सरकारका उपसचिव हुन्)

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.