पहिरोले सडक आंशिक अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार ०९:३७
फाइल फोटो

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा यातायात आंशिक रूपमा अवरुद्ध भएको छ ।

वर्षासँगै आइतबार बिहान करिब ५ः४५ बजे तुइन खोला र पानीधारा क्षेत्रमा ढुंगासहितको पहिरो खस्दा सडकमा सवारी आवागमन प्रभावित भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर प्रतीक सिंहका अनुसार पहिरोका कारण अहिले सडकमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने तथा फर्किने सवारी साधनलाई पालैपालो सञ्चालन गराइएको छ । डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरी पहिरो हटाउन डोजर पठाइएको प्रहरीले जनाएको छ ।

पहिरो खसेको स्थान मुग्लिनबाट करिब ५ किलोमिटर नारायणगढतर्फ पर्दछ । पानीधारामा खसेका ढुंगा भने हटाइसकिएको प्रहरीले जनाएको छ ।

बाँकी पहिरो हटाउने काम जारी रहेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ । यात्रुहरूलाई सावधानी अपनाउन र वैकल्पिक योजना बनाउन प्रहरीले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.