कविता : जीवन खिड्कीबाट 

मुलुकी खबर
विनयी विस्मय
clock२०८३ वैशाख २६, शनिबार १४:५९
कविता : जीवन खिड्कीबाट 

प्रिय सखी भविता
भविता भित्रकी अझै प्रिय कविता
आज त्यसै त्यसै मन उद्वेलित भइरहेको छ
हामीले चिरन्तन कालदेखि खेल्दै आएको
शाब्दिक खेलका व्यापारहरू
चेतन भावलाई कति बोक्न सक्यौँ होला भन्ने प्रश्नले हायल कायल छु आज !

मनको रफ्तार र भावको गहिराइ मापनको यन्त्र स्वरूप
के शब्द मात्रले पुग्छ त ? आफैँ आश्चर्य चकित छु
जीवन इलेक्ट्रोन, प्रोटोन, न्युट्रोन, क्वान्टा या हिक्सकणसम्म पुग्दा
कति कोटियो त आजसम्म
यही प्रश्नले सधैँ मन विस्मयको विकट कुइभिर बनेको छ
सोच्छु लेखाइका अर्थहरू अर्थैमा सीमित भए भने !

Advertisement

प्रिय सखी भविता
के मैले लेखेको यो तलको कविता अर्को प्रलयपछि पनि मान्छेले पढ्न पाउँछ त ?
पाउँदैन भने
किन लेख्नु यी कविता र आख्यानहरू हँ किन ?
यही जीवन (सृष्टि) मा त मान्छे आफैँ उपस्थित छ त होइन र ?

अहँ यो सृष्टिका लागि त सबैले धेरै धेरै र धेरैहरू लेखेका छन्
बित्थामा म किन समय खेर फालौँ
एकवार को जिन्दगी कविता लेखेर
आफैँलाई ग्लानि अनुभूति भइरहेको छ यति बेला
त्यस कारण यस जन्मकी मेरी प्रिय सखी कविता

हाँस्नभन्दा रुनै सजिलो छ सखी
बाँच्नुभन्दा मर्न जस्तै
एक पटक हाँस्नलाई
एक जीवन खट्नुपर्छ
तर रुनलाई एकै शब्द काफी हुन्छ
मर्नलाई पनि कहाँ धेरै विष पिइरहनु पर्छ र सखी
एक थोपा भरपुर हुन्छ !

तर बाँच्नलाई त !
हो ! बाँच्नलाई !
बाँच्नलाई त सयौँ थोपा विष पिउन सक्नुपर्छ सखी !
अर्को कुरा …

विष बनाउन जति सजिलो कहाँ हुन्छ र पिउनलाई
जीवन मर्न जति सजिलो कहाँ हुन्छ र जिउनलाई
जान सिकेर मात्र पनि कहाँ हुँदो रहेछ र सखी
हेर न अभिमन्युको गति
जानुको ध्येय त सबैले  बाँच्न सक्छन्
फर्कनुको परिणामसँग खेल्न कहाँ सजिलो हुँदो रहेछ र !

बिदाइमा हल्लिएका ती खाली हातहरू
स्वागतमा भरिएर आउन कति गाह्रो हुँदो रहेछ
हेर न…
रामले सीतालाई आगोमा धकेल्नु पर्‍यो !
बस… !!!

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.