
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आवश्यक मुख्य मार्गमध्ये ७,९०६ मिटर उचाइसम्म खुला गरिएको छ ।
पर्यटन विभागका अनुसार शुक्रबारसम्म ‘रोप फिक्सिङ’ अर्थात् डोरी टाँग्ने काम सम्पन्न भएसँगै अब आरोहण मार्ग औपचारिक रूपमा सुचारु भएको हो । यससँगै आधार शिविरदेखि माथिल्ला क्याम्पहरूमा रहेका सयौं आरोहीहरू अनुकूल मौसमको पर्खाइमा छन् । उत्साहित रहेका आरोहीहरु शिखर प्रस्थानको प्रतीक्षामा छन् ।
पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार वसन्त याममा मात्र सगरमाथा आरोहणका लागि ५० वटा टोलीका ४९२ जना आरोहीले अनुमति लिएका छन् । अनुमति पाउनेहरूको संख्याले यस सिजनलाई उल्लेखनीय रूपमा सक्रिय बनाउने देखिन्छ ।
यस वर्ष हिमाल आरोहणबाट सरकारलाई उल्लेख्य राजस्व पनि प्राप्त भएको छ । विभागको तथ्यांक अनुसार हालसम्म कुल १ अर्ब २४ करोड ४१ लाख २१ हजार ९५४ रुपैयाँ रोयल्टी संकलन भएको छ । यसमध्ये सगरमाथा आरोहणबाट मात्र १ अर्ब ७ करोड ४० लाख ९५ हजार ४७५ रुपैयाँ राजस्व उठेको छ ।
यस सिजनमा ७९ देशका नागरिकहरू नेपाल आएर हिमाल आरोहण अनुमति लिएका छन् । तीमध्ये चीनबाट १०९ जना र संयुक्त राज्य अमेरिकाबाट ७६ जना आरोही छन् । लैंगिक सहभागितामा १०५ जना महिला र ३८७ जना पुरुषले सगरमाथा आरोहणको अनुमति लिएका छन् ।
सगरमाथा मात्र नभएर अन्य प्रमुख हिमालहरूमा पनि आरोहण गतिविधि तीव्र छ। ल्होत्से हिमालमा १२० जना, आमा दब्लममा १११ जना र मकालु–१ मा ७२ जना आरोहीले अनुमति पाएका छन् । वसन्त याममा ३० वटा हिमालका लागि १ हजार १३४ जना आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
मार्ग खुलिसकेसँगै अब मौसम अनुकूल हुनेबित्तिकै आरोहीहरू दक्षिण मोहडाबाट शिखरतर्फ प्रस्थान गर्ने तयारीमा छन् । सगरमाथा आधार शिविरदेखि उच्च क्याम्पसम्मको चहलपहल बढेसँगै विश्वकै अग्लो शिखर फेरि आरोहणको चाप र उत्साहले भरिने अवस्था बनेको छ ।



















