
काठमाडौं । नेपाल प्रहरीको प्रशासनिक संरचनालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले ठुलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीको निर्णयअनुसार देशभरका विभिन्न वृत्त, जिल्ला र इलाकाहरूमा कार्यरत १२० जना डीएसपीहरू जिम्मेवारी हेरफेर गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार नियमित प्रशासनिक प्रक्रिया र संगठनको आवश्यकतालाई मध्यनजर गर्दै यो सरुवा गरिएको हो । सरुवा हुनेहरूमा विभिन्न जिल्लाका प्रहरी नायब उपरीक्षकहरू, महानगरीय प्रहरी वृत्तका प्रमुखहरू तथा विभागका जिम्मेवार अधिकृतहरू रहेका छन् ।
शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा नयाँ ऊर्जा थप्नका लागि समय समयमा गरिने यस्ता सरुवालाई प्रहरी संगठनमा स्वाभाविक प्रक्रिया मानिन्छ । यस पटकको सरुवामा फिल्डमा उत्कृष्ट कार्यसम्पादन गरेका र लामो समयदेखि एकै स्थानमा रहेका अधिकृतहरूलाई नयाँ जिम्मेवारी दिइएको छ ।
सरुवा भएका डीएसपीहरूलाई आआफ्नो नयाँ कार्य क्षेत्रमा खटिन र तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिइएको छ । यो सरुवासँगै स्थानीय तहमा सुरक्षा व्यवस्था थप मजबुत हुने र प्रहरी सेवाको पहुँच अझ प्रभावकारी हुने विश्वास लिइएको छ ।

























