को बन्लान् पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार १९:००

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको नयाँ उपकुलपति चयन प्रक्रिया अन्तिम चरणतर्फ अघि बढेसँगै विश्वविद्यालयभित्र र बाहिर नेतृत्व कसको हातमा जाने भन्ने विषयले व्यापक चर्चा पाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये १० जनाको सर्टलिस्ट सार्वजनिक गरेपछि प्रतिस्पर्धा अझ रोचक बनेको हो । समितिले प्रारम्भिक चरणमा प्राप्त ३४ आवेदनमध्येबाट अजय भट्टराई, अनिलकुमार पोखरेल, अशोककुमार झा, जनार्दन लामिछाने, दिलिप पराजुली, देवेन्द्र अधिकारी, नरेन्द्र कटुवाल, माधव लम्साल, विजुकुमार थपलिया र सुजनबाबु मराठ्ठालाई छनोट गरेको छ ।

Advertisement

सर्टलिस्ट सार्वजनिक भएसँगै विश्वविद्यालय वृत्तमा तीन जना उम्मेदवारलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिन थालेको छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वसदस्य अजय भट्टराई, पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्ष देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयका पूर्वडीन अनिलकुमार पोखरेललाई उपकुलपति दौडमा अगाडि रहेको अनुहारका रूपमा चर्चा गर्न थालिएको हो ।

संयोग के छ भने यी तीनै जना विराटनगरसँग जोडिएका व्यक्तित्व हुन् । त्यसैले पनि आगामी नेतृत्वमा विराटनगरको प्रभाव कायम रहने वा अरुले नै स्थान पाउने भन्ने विषयले विश्वविद्यालयभित्र थप बहस सिर्जना गरेको छ ।

अजय भट्टराई विश्वविद्यालय प्रशासन र नीतिगत क्षेत्रमा अनुभव भएका व्यक्ति मानिन्छन् । उनी अध्यादेशमार्फत पदमुक्त भएका पदाधिकारीमध्ये एक थिए । शिक्षा प्रशासनमा लामो अनुभव रहेकाले उनको दाबीलाई पनि बलियो रूपमा हेरिएको छ ।

देवेन्द्र अधिकारीले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको नेतृत्व गरिसकेका छन् । विश्वविद्यालयको प्रशासनिक संरचना, कर्मचारी व्यवस्थापन र संस्थागत सुधारका विषयमा उनको अनुभव रहेको बताइन्छ । उनी पनि अध्यादेशमार्फत हटाइएका पदाधिकारीमध्ये पर्छन् । विश्वविद्यालयको आन्तरिक प्रणालीबारे राम्रो जानकारी भएकाले उनको नामलाई पनि सम्भावित नेतृत्वका रूपमा लिइएको छ ।

अनिलकुमार पोखरेललाई पनि शैक्षिक सुधार र नेतृत्व क्षमताका आधारमा बलियो दाबेदारका रूपमा हेरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयको कला, कानुन तथा शिक्षाशास्त्र संकायका पूर्वडीन रहेका उनले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रियस्तरका शैक्षिक सम्मेलन आयोजना गराएका थिए । साथै, बीएएलएलबी र एलएलएम जस्ता कार्यक्रमलाई आंगिक क्याम्पसबाट सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाउन उनले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा छ ।

हाल विश्वविद्यालयको कामचलाउ उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका विजुकुमार थपलिया पनि पुनः नियुक्तिको प्रयासमा छन् । यसअघि उपकुलपति पदबाट हटाइएपछि पुनः कामचलाउ जिम्मेवारी पाएका थपलिया नुवाकोटका बासिन्दा हुन् । उनी पनि अध्यादेशमार्फत पदमुक्त भएका थिए । तर, पछिल्लो समय विश्वविद्यालयभित्र भएका केही विवादास्पद निर्णयका कारण उनको सम्भावना कमजोर बन्दै गएको विश्वविद्यालय स्रोतहरूको दाबी छ ।

सर्टलिस्टमा रहेका अर्का चर्चित उम्मेदवार सुजनबाबु मराठ्ठा यसअघि चिकित्सा शिक्षा आयोगको डाइरेक्टरका रूपमा काम गरिसकेका व्यक्ति हुन् । उच्च शिक्षासम्बन्धी प्रशासनिक अनुभवका कारण उनको नाम पनि चर्चामा छ । उनी पनि अध्यादेशमार्फत हटाइएका पदाधिकारीमध्येमा पर्छन् ।

अब सिफारिस समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र थप मूल्यांकन गर्नेछ। त्यसपछि योग्य ठहरिएको नाम सरकारसमक्ष सिफारिस गरिनेछन् । अन्तिम निर्णय मन्त्रिपरिषदबाट हुने भएकाले राजनीतिक र शैक्षिक दुवै तहमा यस प्रक्रियालाई चासोपूर्वक हेरिएको छ ।

सरकारले पहिलोपटक खुला आवेदनमार्फत विश्वविद्यालयको नेतृत्व छनोट प्रक्रिया अघि बढाएको हो । प्रतिस्पर्धात्मक र योग्यतामा आधारित प्रणालीमार्फत नेतृत्व चयन गर्ने सरकारी तयारीबीच पूर्वाञ्चल विश्वविद्यालयको नयाँ उपकुलपति को बन्लान् भन्ने कुरा अहिले सबैभन्दा बढी चासोको विषय बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.