
विराटनगर । विराटनगरको अर्किड कलेजले नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना भएका ८ सयभन्दा बढी नयाँ विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच स्वागत तथा अभिमुखीकरण गरेको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर कलेजले नयाँ विद्यार्थीहरूलाई आफ्नो शैक्षिक परिवारमा स्वागत गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल मनिष भट्टराईले शिक्षा केवल डिग्री हासिल गर्नमा मात्र सीमित हुन नहुने बताए । विद्यार्थीहरूलाई उत्प्रेरित गर्दै उनले भने, ‘तपाईंहरू यहाँ केवल किताबी ज्ञानका लागि मात्र आउनुभएको होइन, आफ्नो क्षमता पहिचान गर्न र व्यक्तित्व निखार्न आउनुभएको हो । अंकभन्दा इमानदारिता र चरित्र निर्माण ठुलो कुरा हो, जसले तपाईंको भविष्य निर्धारण गर्नेछ ।’

विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै व्यावहारिक जीवनका लागि तयार पार्ने प्रतिबद्धता भट्टराईले व्यक्त गरे । प्रिन्सिपल भट्टराईले विद्यार्थीहरूलाई पाठ्यक्रममा मात्र सीमित नभई बाह्य ज्ञानको खोजी गर्न, जिज्ञासु बन्न र सक्रिय रूपमा अतिरिक्त क्रियाकलापमा सहभागी हुन आग्रह गरे ।
त्यसैगरी, कलेजका निर्देशक दीपेश बास्तोलाले अर्किडमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य सुरक्षित र सुनौलो रहेको दाबी गरे । उनले विद्यार्थीहरूलाई कडा परिश्रम र अनुशासनका माध्यमबाट दक्ष जनशक्ति बन्न सुझाव दिए ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष अमित ढकालले स्थापनाकालदेखि नै अर्किडले समाजका लागि आवश्यक प्रतिस्पर्धी र दक्ष जनशक्ति उत्पादन गर्दै आएको चर्चा गरे । उनले नयाँ विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कलेजले सधैँ गुणस्तरीय शिक्षामा जोड दिने बताए ।

समारोहमा कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने मेधावी विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो । औपचारिक कार्यक्रमका साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गायन तथा रोचक प्रस्तुतिहरू मार्फत कार्यक्रमलाई उल्लासमय बनाएका थिए । अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

























