गाडी किन्दा सास्ती : बिक्री गरेको गाडी पास गर्न माननीयले माग्दैछन् अतिरिक्त ब्याज

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार ०७:३५

विराटनगर । साधारणतया गाडी खरिद सुविधा र सहजताका लागि गरिन्छ । तर, विराटनगरका निर्माण व्यवसायी रामप्रकाश गडेरीका लागि भने खरिद गरेको गाडी निल्नु न ओकल्नुको पीडा बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद (माननीय) पारसमणि गेलालको ओम साई मोटो कर्प प्रालि इटहरीबाट गाडी खरिद गरेका गडेरी अहिले विक्रेताको अनावश्यक झन्झट, कानुनी मुद्दा र आर्थिक बार्गेनिङको चक्रव्यूहमा फसेका छन् । गेलाल र गडेरीबीचको विवादको जड दुई वर्ष अगाडि खरिद गरेको गाडी थियो ।

Advertisement

गडेरीले सुरुमा ओम साई मोटो कर्प इटहरीबाट ५२ लाख रुपैयाँमा किया सोनेट गाडी खरिद गरेका थिए । तर, गाडीको भुक्तानी भएपनि विक्रेता कम्पनीले दुई वर्षसम्म नामसारी गरिदिएन । गाडी आफ्नो नाममा नहुँदा भोग्नुपर्ने मानसिक र कानुनी तनाव झेल्दै गर्दा सांसद गेलालले उनलाई उक्त गाडी साटेर अर्को गाडी लिन आग्रह गरे ।

गडेरीले किया गाडीलाई ४५ लाख रुपैयाँ मूल्यांकन गराएर ओम साईबाटै २०८२ मंसिर २४ गते स्काई वेलको विद्युतीय गाडी खरिद गरे । ७५ लाख पर्ने स्काइ वेल गाडी लिने क्रममा उनले १ लाख रुपैयाँ तत्काल नगद बुझाए भने बाँकी २९ लाख रुपैयाँका लागि २०८२ चैत ४ गतेको मिति राखेर आफ्नो कम्पनी ‘प्रिन्स निर्माण सेवा’को चेक दिए ।

गडेरीले २९ लाख रुपैयाँ भुक्तानीका लागि नबिल बैंकबाट ऋण स्वीकृत गराइसकेका छन् । बैंकिङ प्रक्रिया अनुसार, बैंकले ‘डेलिभरी अर्डर’ जारी गरिसकेको छ । यसको अर्थ, गाडी बैंक वा गडेरीको नाममा नामसारी हुनेबित्तिकै बैंकले सिधै विक्रेता कम्पनीको खातामा २९ लाख रुपैयाँ जम्मा गरिदिन्छ ।

नबिल बैंक स्रोत भन्छ, ‘हाम्रो तर्फबाट सबै प्रक्रिया पूरा भएको छ । विक्रेताले गाडी नामसारी गरिदिनेबित्तिकै पैसा ट्रान्सफर हुन्छ । यो सुरक्षित र कानुनी प्रक्रिया हो ।’ तर, ओमसाई मोटो कर्पका सञ्चालक कैलाश गेलाल र पारसमणि गेलाल भने बैंकको यो पारदर्शी प्रक्रिया मान्न तयार छैनन् ।

उनीहरूले गडेरीले दिएको चेक नै साटिनुपर्ने अडान राख्दै भुक्तानीमा ढिलाइ भएको भनेर अतिरिक्त ब्याजसमेत मागेका छन् । ‘पहिले पनि २ वर्षसम्म गाडी पास नगरिदिएर धोका पाएको छु । त्यसैले यसपटक बैंकमार्फत भुक्तानी गर्छु,’ गडेरी भन्छन, ‘तर, उहाँहरू पैसा बुझेर पनि नामसारी नगरिदिने नियतमा हुनुहुन्छ ।’

उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गेलाल गाडी पास गर्दा आफूहरुले ब्याज पाउनु पर्ने बताउँछन् । ‘उहाँले समयमा पैसा तिर्नु भएको छैन । हामीले बैंकमा ब्याज तिर्नुपर्छ । भनेको समयमा नदिएपछि बाँकी समयको ब्याज तिर्नुपर्छ,’ उनले भने । कम्पनीको तर्फबाट गाडी बिक्री गरिए पनि गडेरीबाट गेलालले गाडीको भुक्तानी आफ्नै निजी बैंक खातामार्फत बुझेका थिए । किया सोनेट गाडी बिक्री गर्दा पारसमणी गेलालले गडेरीबाट ४० लाख रुपैयाँ विभिन्न मितिमा आफ्नो व्यक्तिगत खातामा जम्मा गर्न लगाएका थिए ।

गाडी खरिद बिक्रीको विषयमा विवाद भएपछि अहिले दुवै पक्ष कानुनी प्रक्रियामा पुगेको छ । विक्रेताले बैंक प्रक्रियामा असहयोग गरेपछि गडेरीले गत वैशाख ३ गते जिल्ला प्रशासन कार्यालय मोरङमा ‘नामसारीमा सहयोग गरिपाऊँ’ भन्दै निवेदन दिएका थिए ।

विक्रेताले कम्पनी भने ‘चेक बाउन्स’को जाहेरी दिएको छ । गडेरीले नामसारीको ग्यारेन्टी नभएसम्म चेक साट्न नदिएपछि ओम साई मोटो कर्पले जेठ १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा गडेरीविरुद्ध चेक बाउन्सको जाहेरी दिएको हो । जाहेरी दिए लगतै उनलाई पक्राउ गर्न दबाब पनि दिइरहेको छ ।

‘लोनको पैसा हामीलाई चाहिएको होइन । हामीलाई चेक दिएको छ । चेकको पैसा चाहियो । चेक अनुसारको पैसा नदिएपछि हामीले कानुन अनुसार अघि बढेको हो,’ ओम साईका अर्का सञ्चालक कैलाश गेलाल भन्छन, ‘उहाँले दिएको चेक एक महिनासम्म नसाटिएपछि चेक बाउन्सको जाहेरी दिइएको हो । चेकको पैसा दिए गाडी पास हुन्छ ।’

चेक साट्न दिँदा गाडी आफ्नो नाममा नआउने थाहा पाएपछि खातामा पैसा नराखेको गडेरी बताउँछन् । ‘मलाई गाडी नामसारी गर्नुपर्ने भएकाले बैंकबाट २९ लाखको लोन मिलाएको छु । बैंकको नाममा पास गर्ने वित्तिकै पैसा उहाँले पाइहाल्नु हुन्छ,’ गडेरीले भने, ‘पहिले धेरै दुःख पाएको छु । मेरो घरमै किनेको अर्को गाडी २ वर्षदेखि नामसारी गरिदिएको छैन ।’

दुई वर्षअघि ससुराबुवाका लागि खरिद गरेको गाडी पनि अझै नामसारी नगरिदिएको उनको गुनासो छ । बैंकले भुक्तानीको ग्यारेन्टी गर्दा गर्दै ग्राहकलाई कानुनी झमेलामा फसाउनुले सांसद र उनको कम्पनीको नियतमाथि प्रश्न उठाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.