पश्चिम नेपालबाट बाहिरिन थाल्यो मनसुन

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १२:३०

काठमाडौं । यस वर्षको मनसुन नेपालको पश्चिमी भूभागबाट बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार शनिबारदेखि पश्चिमी क्षेत्रबाट मनसुन बहिर्गमन सुरु भएको हो । विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिसकेको छ ।

लुम्बिनी प्रदेशका पश्चिमी अधिकांश भूभाग तथा गण्डकी प्रदेशको पश्चिमी केही भूभागबाट पनि मनसुन बाहिरिएको मौसमविद् अधिकारीले बताए । देशका बाँकी भूभागमा पनि मनसुन क्रमशः कमजोर हुँदै गएको विभागले जनाएको छ । मनसुन बहिर्गमनको अवस्थाबारे विभागले नियमित अनुगमन गरिरहेको छ ।

मनसुन बाहिरिए पनि वर्षा पूर्ण रूपमा रोकिने भने नहुने अधिकारीले बताए। पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा हुन सक्ने भएकाले मौसमको अवस्था हेरेर सतर्कता अपनाउन उनले आग्रह गरे । आगामी २४ घण्टामा देशका कुनै पनि भूभागमा भारी वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । विगत २४ घण्टामा लमजुङको फलेनी केन्द्रमा मात्र भारी वर्षा मापन भएको र अन्य क्षेत्रमा ठूलो वर्षा नभएको अधिकारीले बताए ।

हाल तराईका अधिकांश भूभागमा घाम लागिरहेको छ। पूर्वी तराईको झापा आसपासका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको विभागले जनाएको छ । विगत २४ घण्टामा तराईका भूभागमा वर्षा नभएको र लुम्बिनी तथा केही पहाडी–हिमाली क्षेत्रमा सीमित स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने तथा अपराह्नपछि एक–दुई स्थानमा सामान्य वर्षा हुन सक्ने विभागले जनाएको छ । पश्चिमी तराईमा भने दिउँसो वर्षाको सम्भावना छैन ।

शनिबार रातिदेखि मौसममा थप सुधार आउने पूर्वानुमान छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भए पनि पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । देशभर हाल कुनै मौसमी चेतावनी नरहेको र सबै भूभागलाई हरियो संकेतमा राखिएको अधिकारीले बताए। धान भित्र्याउने समय भएकाले हल्का वर्षाले पनि कृषि कार्यमा असर पार्न सक्ने भन्दै उनले किसानलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र काम गर्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×