
विराटनगर । नेपाल र भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले भारतको सिलिगुडीमा आयोजित दुई दिने ‘सिलिगुडी डायलग २०२६’ मा मोरङ उद्योग व्यापार संघले सक्रिय सहभागिता जनाएको छ ।
‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ भन्ने मूल नाराका साथ कनफेडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) को संयुक्त आयोजनामा उक्त संवाद कार्यक्रम भएको हो ।
विराटनगरबाट संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहको नेतृत्वमा कार्यसमिति सदस्य विनीत सिंघानिया सहित उद्योगीहरू ऋषभ सोमानी र केतन साहको प्रतिनिधिमण्डलले कार्यक्रममा सहभागिता जनाएको थियो ।
दुवै देशका नीति–निर्माता, लगानीकर्ता, उद्योगी र विज्ञहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा द्विपक्षीय हित र आर्थिक समृद्धिका विषयमा गहन छलफल भएको थियो । विशेषगरी पर्यटन, नवीकरणीय ऊर्जा, ग्रामीण तथा सम्पदा संरक्षण पर्यटन, स्वास्थ्य सेवा समन्वय, शिक्षा र उद्यमशीलता जस्ता क्षेत्रमा सहकार्य गर्ने विषयमा सत्रहरू केन्द्रित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष साहले नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गरे । उनले नेपालमा लगानीको वातावरण क्रमशः सुधार हुँदै गएको बताउँदै भारतीय लगानीकर्ताहरूका लागि औद्योगिक, शैक्षिक र पूर्वाधारका क्षेत्रहरू आकर्षक गन्तव्य बन्न सक्ने धारणा राखे ।
उपाध्यक्ष साहले भने, ‘नेपाल, भुटान र बंगलादेशको त्रिदेशीय संवेदनशील विन्दुमा रहेको सिलिगुडी कोरिडोरलाई आर्थिक अवसर र आपसी विश्वासको बलियो सेतु बनाउन ‘सिलिगुडी डायलग’ ले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ उनले सीमापार व्यापार सहजीकरण, नीतिगत निरन्तरता र निजी क्षेत्रबीचको नियमित संवादले मात्र व्यापारिक अड्चनहरू फुकाउन सकिनेमा जोड दिए ।
कार्यक्रममा एआइडीआइएका संस्थापक तथा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील केसी र सीआईआई उत्तर बंगाल जोनल काउन्सिलका अध्यक्ष सतीश मित्रुकाले आ–आफ्नो धारणा राखेका थिए ।
संवादमा विषयगत विज्ञका रूपमा काउन्सिलका उपाध्यक्ष अमल मण्डल, नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष कुणाल कायल, ग्रामीण सम्पदा पर्यटन विज्ञ सुप्रतिम (राज) बसु, किन्स अस्पतालका संस्थापक सुमित सिंघल, आइइसी गु्रप नेपालकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, आइआइएएस स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. के.भी. राजेन्द्रन नायर र ग्लोबल प्राइभेट लिमिटेडका अध्यक्ष आशिष ठाकुरले विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको समापनमा नेपालको प्रतिनिधिसभाका सांसद परशमणि गेलालले नेपाल–भारत आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता संवादहरू कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।



















