
इलाम । नेपालको चिया उद्योग फेरि एकपटक गम्भीर संकटमा परेको छ । प्रमुख निर्यात बजार भारतले लागू गरेको नयाँ नीतिगत व्यवस्था र पटक–पटक दोहोरिँदै आएको गैरभन्सार अवरोधका कारण पूर्वी नेपालका दर्जनौं चिया उद्योग बन्द भएका छन् । लाखौं किलो तयारी चिया गोदाममै थन्किएको छ ।
उद्योगीहरूका अनुसार भारतले प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि विभिन्न समयका प्राविधिक तथा प्रक्रियागत व्यवस्थामार्फत नेपाली चियाको निर्यातमा अवरोध सिर्जना गर्दै आएको छ । भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अनुसार चियाको गुणस्तर परीक्षण सरकारी प्रयोगशालाबाट मात्रै प्रमाणित हुनुपर्ने व्यवस्था गरेपछि नेपाली चियाको निर्यात प्रभावित भएको हो ।
यसअघि निजी प्रयोगशालाको परीक्षण प्रतिवेदनका आधारमा निर्यात हुँदै आएको चिया नयाँ प्रक्रियाका कारण भारतका विभिन्न सहरका गोदाममा अड्किएको छ । उद्योगीहरूका अनुसार दुई लाख किलोभन्दा बढी चिया भारतीय गोदाममा रोकिएको छ । नेपालभित्रका कारखानाहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया भण्डारण भएको छ ।
उत्पादनको मुख्य सिजनमै बिक्री र निकासी प्रभावित भएपछि इलामको सूर्योदय क्षेत्रका ५३ वटा अर्थोडक्स चिया उद्योग बन्द भएका छन् । यसबाट करिब तीन हजार किसान प्रत्यक्ष प्रभावित भएका छन् । झापाका सीटीसी चिया उद्योगहरू पनि बजार अभावका कारण समस्यामा परेका छन् । नेपालबाट वार्षिक रूपमा निर्यात हुने करिब ७० लाख किलो अर्थोडक्स चियामध्ये झण्डै ९० प्रतिशत भारतमै जाने भएकाले भारतीय अवरोधले सम्पूर्ण उद्योगलाई संकटमा पारेको छ ।
नेपालमा चिया खेतीको इतिहास विक्रम संवत १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले चीनबाट चियाका बिरुवा ल्याएर इलाममा रोपेपछि सुरु भएको मानिन्छ । तर, १६० वर्षभन्दा बढी पुरानो यो उद्यम अहिले अस्तित्वको लडाइँमा पुगेको छ । उद्योगीहरूका अनुसार भारतले विगतमा पनि गुणस्तर परीक्षण, आयात प्रक्रिया, उत्पत्तिको प्रमाणपत्र तथा पुनःनिर्यातसम्बन्धी विभिन्न व्यवस्था लागू गरेर नेपाली चियालाई बारम्बार अप्ठ्यारोमा पार्दै आएको छ ।
भारतीय चिया उत्पादक समूहहरूले समेत नेपाली चियाको बढ्दो उपस्थितिप्रति असन्तुष्टि जनाउँदै कडा निगरानीको माग गर्दै आएका छन् । नेपाली चियामा सधैंजसो भारतको अवरोध भइरहन्छ । यता उद्योगभित्रै पनि समस्या चुलिएका छन् । विक्रम संवत २०५७ मा सरकारले नेपाल चिया विकास निगम लिमिटेडको ६५ प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरी इलाम र झापाका बगानहरू लिजमा दिएपछि व्यवस्थापन, संरक्षण र करसम्बन्धी विवाद बढ्दै गएको छ ।
स्थानीय तहहरूले बगान संरक्षण, नयाँ बिरुवा रोपण र कर भुक्तानीमा निजी व्यवस्थापन पक्ष गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । इलाम नगरपालिकाले ऐतिहासिक बगान संरक्षण र सौन्दर्यीकरण अभियान सञ्चालन गर्दा समेत व्यवस्थापन पक्षसँग विवाद उत्पन्न भएको छ ।
उद्योगीहरूले संकट समाधानका लागि नेपाल सरकारसँग कूटनीतिक पहलको माग गरेका छन् । तर, हालसम्म ठोस उपलब्धि देखिएको छैन । चिया क्षेत्रका सरोकारवालाहरूका अनुसार एक मात्र बजारमा अत्यधिक निर्भरता, सरकारी उदासीनता र भारतीय अवरोधका कारण नेपाली चिया उद्योग बारम्बार संकटमा पर्दै आएको छ । समयमै निकास नखोजिए लाखौं किसान र श्रमिकको जीविकासँग जोडिएको नेपालको ऐतिहासिक चिया उद्योग अझ गम्भीर अवस्थामा पुग्ने चेतावनी उद्योगीहरूले दिएका छन् ।



















