सामाजिक कार्य अध्यापन गराउने शिक्षकका लागि तालिम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार ०९:३३
सामाजिक कार्यका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

विराटनगर । नेपालमा ‘सामाजिक कार्य अभ्यास शिक्षा’ लाई सुदृढ र प्रवर्द्धन गर्ने उद्देश्यले सामाजिक कार्य विषय अध्यापन गराउने शिक्षकहरूका लागि आयोजित १० दिने विशेष तालिम विराटनगरमा सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा सहभागी तीन वटा विश्वविद्यालयका शिक्षकहरूलाई पूर्वाञ्चल विश्वविद्यालयको कला, कानुन तथा शिक्षा संकायका डीन प्रा. रामप्रसाद ढकाल र चेक गणतन्त्रको ओस्ट्राभा विश्वविद्यालयका सामाजिक विज्ञान संकायकी डीन प्रा. डा. सोना केन्द्रा वरोबाले प्रमाणपत्र प्रदान गरे ।

Advertisement

सो अवसरमा बोल्दै उनीहरूले यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर वृद्धि गर्न र शिक्षकहरूको दक्षता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । परियोजना म्यानेजर एनिना फालोङ्गस, त्रिभुवन विश्वविद्यालयकी परियोजना संयोजक सुकृता राई, मध्यपश्चिम विश्वविद्यालयका परियोजना संयोजक खगेन्द्रप्रसाद अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयका संयोजक पुकार चौधरीले कार्यक्रम अत्यन्तै फलदायी रहेको टिप्पणी गरे ।

सहभागीका तर्फबाट रोशनी त्रिपाठीले १० दिने तालिमबाट धेरै नयाँ कुरा सिक्ने अवसर मिलेको र यसले प्राध्यापनमा नयाँ ऊर्जा थपेको बताइन्  । तालिममा पूर्वाञ्चल विश्वविद्यालयबाट १० जना, त्रिभुवन विश्वविद्यालयबाट १४ जना र मध्यपश्चिम विश्वविद्यालयबाट ७ जना गरी कुल ३१ जना शिक्षकहरूको सहभागिता रहेको थियो । युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित यस कार्यक्रमलाई पूर्वाञ्चल विश्वविद्यालय, जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरले आयोजना गरेको हो ।

यो परियोजनामा फिनल्यान्डको युनिभर्सिटी अफ इस्टर्न फिनल्यान्डको समन्वय रहेको छ भने साझेदारका रूपमा चेक गणतन्त्रको ओस्ट्राभा विश्वविद्यालय, स्पेनको नेशनल युनिभर्सिटी अफ डिस्ट्यान्स एजुकेसन, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय रहेका छन् ।

तालिम प्राप्त शिक्षकहरूले अब सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरू र विभिन्न सामाजिक संघसंस्थासँग मिलेर कार्य गर्नेछन् । पूर्वाञ्चल विश्वविद्यालयले विगत एक दशकदेखि यस क्षेत्रमा स्नातक र स्नातकोत्तर तहको अध्यापन गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.