
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागार भित्र तनाव बढेको छ । कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग आरोपमा गिरी पक्राउ परेपछि कारागार भित्र तनाव भएको हो ।
गिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् ।
जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार ब्लक बी का कैदीबन्दीले गिरीको पक्षमा प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । ब्लक ए का कैदीबन्दीले भने गिरीका विरुद्ध प्लो कार्ड बोकेर प्रदर्शन गरेका छन् ।
मोरङ कारागारमा ३ वटा ब्लक छन् ।
ती ब्लकमा रहेका १ हजार १ सय ८५ कैदीबन्दीलाई गर्मीभत्ता बापत २ हजार ५ सयका दरले वितरण गरिएको थियो । जेलर घिमिरेका अनुसार ए ब्लकमा ५३९ जना, बी ब्लकमा ५३६ जना र महिला ब्लकमा ११० जना छन् । बी ब्लकका ५३६ जनालाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ भने वितरण गरेको केही समयमा गायब भएको थियो । सोही घटनामा जोडिएपछि गिरी पक्राउ परेका थिए । शनिबार बिहान पक्राउ परेका उनी छाती दुख्यो भन्दै अस्पताल भर्ना भएका छन् । छाती दुख्यो भनेपछि उनलाई प्रहरीले कोशी अस्पताल भर्ना गरेको छ ।
प्रहरीले घटनाको अनुसन्धानका लागि चौकिदारलाई लिएर जाँदा पनि कैदीबन्दीले विरोध गरेका थिए । विवादास्पद छविका गिरी ९ वर्ष कैद सजायपछि छुटेर नेपाली कांग्रेसबाट राजनीति गरिरहेका छन् ।

























