
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ गर्मी भत्ता गायव भएको घटनामा जोडिएपछि पक्राउ परेका विराटनगरका ४८ वर्षीय अभिषेक गिरी अस्पताल भर्ना भएका छन् । शनिबार बिहान कारागारका कैदीबन्दीको रकम दुरुपयोग आरोपमा पक्राउ परेका थिए । गिरीले छाती दुख्यो भनेपछि प्रहरीले कोशी अस्पताल भर्ना गरेको हो ।
कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चन्द्रभाल झाका अनुसार गिरीको इमरजेन्सीमा राखेर उपचार भइरहेको छ । गिरीको प्रेसर बढेको उनले बताए । इसिजी गर्दा अवस्था सामान्य देखिएको बताउँदै उनले प्रेसर नर्मल भएपछि डिस्चार्ज गर्ने जानकारी दिए ।
कारागार प्रशासनले गत बुधबारदेखि शुक्रबारसम्म १ हजार १८५ कैदीबन्दीलाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले भत्ता वितरण गरेको थियो । तर, बी ब्लक का ५३६ जना कैदीलाई बाँडिएको रकम केही घण्टामै गायब भएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अनुगमनको निर्देशन दिएका थिए । अनुगमनका क्रममा कैदीबन्दीको साथमा रकम नभेटिएपछि सोधपुछ गर्दा गिरीसम्म पुगेको देखिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

























