सिरहा पुग्दै गृहमन्त्री, सरकार–पीडित सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार ०९:४९

विराटनगर । गृहमन्त्री सुधन गुरुङ आज (शुक्रबार) सिरहा पुगेर गोली लागी मृत्यु भएका गणेश यादवका परिवारसँग भेट गर्ने भएका छन् ।

सुनसरीको देवानगन्जमा हिंसात्मक घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सातबुँदे सहमति गरेपछि उनी विराटनगर हुँदै सिरहा जान लागेका हुन् । गृहमन्त्रीको उपस्थितिमा भएको सहमतिअनुसार मृतकलाई सहिद घोषणा प्रक्रिया अघि बढाइने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने, पीडित परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माणका लागि आवश्यक समन्वय गरिनेछ ।

Advertisement

सहमतिपछि सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र नागरिकको विश्वासप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । उनले सहमतिको कार्यान्वयन छानबिन समितिको प्रतिवेदनका आधारमा अघि बढाइने उल्लेख गरे ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा मृतकका आफन्तसँग बिहीबार राति सहमति भएपछि गुरुङ विराटनगर आएका थिए । त्यसपछि शुक्रबार सिरहा पुगेर गणेश यादवका परिवारलाई भेट्ने र जिल्लाको पछिल्लो सुरक्षा अवस्थाका बारेमा प्रहरी प्रशासनका अधिकारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

सुनसरी घटनापछि विरोध प्रदर्शन चर्किँदा मधेश प्रदेशका विभिन्न जिल्लामा तनावको अवस्था देखिएको छ । सिरहामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी गणेश यादवको मृत्यु भएको थियो । सरकारले घटनाको निष्पक्ष छानबिन र पीडित परिवारसँग भएका सहमतिको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×