
विराटनगर । आधुनिक कृषि प्रविधिको अभाव, सरकारी अनुदान स्थगन र उचित भण्डारणको व्यवस्था नहुँदा मोरङमा जुट खेतीप्रतिको आकर्षण तीव्र रूपमा घट्दै गएको छ । कुनै समय बिघौँ जमिनमा व्यावसायिक रूपमा हुने जुट खेती अहिले सीमित क्षेत्रमा मात्र खुम्चिएको छ ।
कृषि ज्ञान केन्द्र मोरङका अनुसार आर्थिक वर्ष २०७९/८० मा मोरङमा ५ हजार १ सय १० हेक्टर क्षेत्रफलमा जुट खेती गरिएकोमा ७ हजार ४ सय ९ मेट्रिक टन उत्पादन भएको थियो । त्यसपछिका वर्षहरूमा क्षेत्रफलमा सामान्य फेरबदल देखिए पनि उत्पादन सन्तोषजनक हुन सकेन ।
आर्थिक वर्ष २०८०/८१ मा खेतीको क्षेत्रफल बढेर ५ हजार २ सय २५ हेक्टर पुगे पनि उत्पादन भने ७ हजार ४ सय ३१ मेट्रिक टन मात्र भयो । त्यसपछिको आर्थिक वर्षमा क्षेत्रफल घटेर ५ हजार ५० हेक्टरमा सीमित हुँदा उत्पादन ७ हजार ३ सय २२ मेट्रिक टनमा झरेको छ ।

आर्थिक वर्ष २०८०/८१ सम्म सरकारले जुट खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत १० कट्ठाभन्दा बढी क्षेत्रफलमा खेती गर्ने ३० जना किसानलाई जनही २० हजार रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको थियो ।
यो अनुदान बन्द भएपछि र मल-बीउमा पर्याप्त सहयोग नपाउँदा उत्पादन लागत अत्यधिक बढेको छ । कृषि मजदुरको अभाव र परम्परागत खेती प्रणालीका कारण लागत धान्न कठिन भएपछि धेरै किसानले खेती घटाएका छन् भने केहीले यो पेसा नै छाड्दै गएका छन् ।
जुट खेतीमा देखिएको अर्को प्रमुख समस्या उचित भण्डारणको अभाव हो । चाडपर्वको खर्च व्यवस्थापन गर्न, घरायसी आवश्यकता टार्न वा तत्काल नगदको जोहो गर्न बाली भित्र्याउनासाथ सस्तो मूल्यमा जुट बेच्नुपर्ने बाध्यता छ ।

किसानको उत्पादन बजारमा बिक्री भइसकेलगत्तै मूल्य आकाशिनु यहाँको नियमित नियति जस्तै बनेको छ । गत वर्षहरूमा किसानले प्रतिमन ३ हजार ५ सय देखि ३ हजार ६ सय रुपैयाँसम्ममा जुट बेचेको केही समयमै मूल्य बढेर प्रतिमन ४ हजार ६ सय देखि ४ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो ।
यसरी समयमा भण्डारण गर्न नसक्दा र तत्कालै सस्तोमा बिक्री गर्नुपर्दा किसानले प्रतिमन ९ सय रुपैयाँसम्म घाटा व्यहोर्दै आएका छन् । रेशा निकालिसकेपछि बाँकी रहने डाँठ (सन्ठी) तराई क्षेत्रमा घरायसी इन्धनका रूपमा प्रयोग हुने भएकाले मात्रै बाध्य भएर सानो परिमाणमा जुट खेती गर्ने क्रम जारी छ ।
अन्य बालीको तुलनामा जुट खेती अत्यधिक श्रम लाग्ने खेती हो । यसका अधिकांश प्रक्रिया अझै परम्परागत विधिबाटै हुने गरेका छन् । नयाँ प्रविधि भित्र्याउने प्रयास पर्याप्त नहुँदा र सरकारले मल, बीउ तथा सुरक्षित भण्डारणको व्यवस्था गरिदिन नसक्दा मोरङमा जुट खेती संकटमा पर्दै गएको छ ।

























