कबड्डीकी मेनुका र प्रशिक्षक पार्वती सम्मानित हुँदै

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार २१:०५
कबड्डीकी मेनुका र प्रशिक्षक पार्वती सम्मानित हुँदै
विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले जापानमा सम्पन्न २० औँ एसियाली खेलकुद प्रतियोगितामा महिला कबड्डीतर्फ कांस्य पदक जिताउन सफल खेलाडी मेनुका राजवंशी र प्रशिक्षक पार्वती राईलाई नगदसहित सम्मान गर्ने भएको छ।
इटहरीस्थित प्रादेशिक रंगशालामा शुक्रबार सम्पन्न बोर्डको ३६ औँ  बैठकले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै महिला कबड्डीमा कांस्य पदक जितेकी राजवंशी र प्रशिक्षक राईलाई सम्मान गर्ने निर्णय गरेको हो । राजवंशीलाई १ लाख रुपैयाँ र प्रशिक्षक राईलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने बोर्डले जनाएको छ।
कोशी प्रदेशकी सामाजिक विकासमन्त्री तथा बोर्डकी अध्यक्ष गीता तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्नुका साथै १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र बनाउने निर्णय गरेको छ।
बैठकले राष्ट्रिय खेलकुदमा कोशी प्रदेशबाट स्वर्ण पदक जित्ने खेलाडीलाई प्रोत्साहन स्वरूप मासिक भत्ता उपलब्ध गराउने तयारी थाल्ने निर्णयसमेत गरेको छ। बोर्डका सदस्यसचिव विप्लव घोषका अनुसार यसका लागि आवश्यक अध्ययन गरी प्रक्रिया अघि बढाइनेछ । उनका अनुसार स्वर्णसँगै रजत र कांस्य पदक विजेता खेलाडीलाई समेत प्रोत्साहन गर्ने विषयमा बोर्डले थप अध्ययन गर्नेछ।
यसैबीच, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट प्रतियोगिता सञ्चालनका लागि बोर्डले इटहरीस्थित प्रादेशिक रंगशालामा सचिवालय स्थापना गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×