सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १७:४७
सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै पुनः सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । साउन १६ र १७ गते बसेको महासंघको राष्ट्रिय परिषद् बैठकले मागहरू सम्बोधन नभए आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन सुरु गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षकहरूसँग गरेको लिखित सहमति कार्यान्वयन गर्न बेवास्ता गरेको आरोप लगाएका छन् । उनले भने, ‘सरकारले हाम्रा मागप्रति उदासीनता देखाइरहेको छ । यदि सहमति तत्काल पालना भएन भने यस पटक विगतको भन्दा अझ ठुलो सहभागितासहित निर्णायक सडक संघर्ष हुनेछ।’

Advertisement

शिक्षक महासंघले यसअघि २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित सशक्त आन्दोलन गरेको थियो । २९ दिनसम्म चलेको उक्त आन्दोलनपछि २०८२ वैशाख १७ गते सरकार र महासंघबीच ९ बुँदे सहमति भएको थियो । तर, सहमति भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि नयाँ शिक्षा ऐन जारी नभएको र सहमतिका मुख्य बुँदाहरू कार्यान्वयनमा नआएको महासंघको ठहर छ ।

अध्यक्ष सुवेदीले हालको शिक्षा नियमावलीप्रति समेत कडा असन्तुष्टि जनाएका छन् । शिक्षकका पेशागत हकहित र मागहरूलाई सम्बोधन गर्न सरकारले आलटाल गरिरहेको भन्दै उनले अब छलफलबाट मात्र नभई दबाबमूलक कार्यक्रमबाटै अघि बढ्ने बताए ।

महासंघले अबको केही दिनमा थप छलफल गरी आन्दोलनका ठोस कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.