
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेड वृद्धि) अर्थात् मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले गत साउन २ र ३ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले दिएको जानकारी अनुसार यस वर्षको मौका परीक्षामा देशभरबाट कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ५७ हजार ८९७ जना परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन् । यो कुल परीक्षार्थी संख्याको ८१.१९ प्रतिशत हो ।
परीक्षामा सहभागीमध्ये ३ जना परीक्षार्थीको परीक्षाफल भने बोर्डले रद्द गरेको छ । नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणले कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा आवश्यक संशोधन गरिने बोर्डले स्पष्ट पारेको छ ।
परीक्षार्थीहरूले आफ्नो नतिजा सहजै हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको छ । बोर्डका अनुसार परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट ( www.neb.gov.np ) मार्फत नतिजा हेर्न सक्नेछन्। साथै, एसएमएस र आइभीआर सेवाको प्रयोग गरेर पनि आफ्नो नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।
नियमित परीक्षामा दुई विषयसम्म ‘एनजी’ आएका वा अनुपस्थित रहेका विद्यार्थीहरूका लागि बोर्डले साउनमा मौका परीक्षा सञ्चालन गरेको थियो । नतिजा सार्वजनिक भएसँगै उत्तीर्ण विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको बाटो खुलेको छ ।

























