
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू पूरा गराउन आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघको हालै सम्पन्न तेस्रो राष्ट्रिय परिषद् बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले परिषद् बैठकका १५ बुँदे निर्णयहरू सार्वजनिक गरेको छ । जसमा विगतमा सरकारसँग भएका सम्झौताहरूको कार्यान्वयन र हालका नयाँ समसामयिक मागहरूलाई मुख्य एजेन्डा बनाइएको छ ।
आन्दोलनको ठोस मिति र कार्यक्रमहरू भने तत्काल सार्वजनिक गरिएको छैन । परिषद् बैठकले आन्दोलनको विस्तृत स्वरूप र कार्य तालिका तय गर्ने अधिकार ‘विस्तारित कार्य दलीय बैठक’ लाई प्रत्यायोजित गरेको छ । सोही बैठकले भदौका कुन कुन दिन कस्ता कार्यक्रम गर्ने भन्ने निर्णय गर्नेछ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षकका मागप्रति उदासीनता देखाएकाले सडक संघर्षको विकल्प नरहेको बताए । उनले भने, ‘हामीले पटक–पटक आफ्ना मागहरू राख्दै आएका छौँ। यस पटक पुराना अधुरा माग र नयाँ पेसागत मुद्दाहरूलाई समेटेर भदौदेखि सशक्त आन्दोलन सुरु गर्ने निर्णय गरेका हौँ ।’
शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा रहेका कतिपय प्रावधानहरूमा असहमति जनाउँदै र शिक्षकहरूको सेवा सुविधा, स्थायित्व र वृत्ति विकासका मुद्दाहरूलाई लिएर दबाब दिँदै आएको छ ।
नेपाल शिक्षक महासंघकाे तेस्रो राष्ट्रिय परिषद् बैठकका १५ बुँदे निर्णयहरू

























