विद्यार्थीलाई फुलुमाया फाउन्डेसनको पोसाक सहयोग

मुलुकी खबर
रवीन्द्र बराल
clock२०८३ श्रावण २७, बुधबार ०९:०४
विद्यार्थीलाई फुलुमाया फाउन्डेसनको पोसाक सहयोग

रंगेली । मोरङको रंगेली नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको छ । श्याम फुलुमाया फाउन्डेसन तथा श्याम फुलुमाया हस्तकला उद्योगले करिब ४ लाख ८५ हजार रुपैयाँ बराबरको ४८५ थान ट्रयाकसुट विद्यालयलाई हस्तान्तरण गरेको हो ।

विद्यार्थीको शैक्षिक हित र उनीहरूमा समानताको भावना जागृत गराउने उद्देश्यले गरिएको यस सहयोगबाट विशेषगरी विपन्न परिवारका बालबालिकालाई विद्यालय पोसाक व्यवस्थापनमा ठुलो राहत पुग्ने विश्वास लिइएको छ ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि एवं रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले शिक्षाको विकासमा निजी क्षेत्र र सामाजिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले यस्ता सहयोगले सरकारी प्रयासलाई बल पुग्ने र विद्यार्थीमा आत्मविश्वास बढाउने उल्लेख गरे । नगर शिक्षा अधिकृत लीला ओझाले शिक्षामा गरिएको लगानी नै समाज परिवर्तनको मुख्य आधार भएको बताउँदै विपन्न विद्यार्थीलाई नियमित अध्ययनमा यसले हौसला प्रदान गर्ने धारणा राखिन् ।

फाउन्डेसनका सल्लाहकार राजन दाहालले संस्थाको उद्देश्य केवल सहयोग बाँड्नु मात्र नभई शिक्षा, स्वास्थ्य र रोजगारीमार्फत समुदायको जीवनस्तर सुधार्नु रहेको बताए । ‘विद्यार्थीको अनुहारमा देखिने खुसी नै हाम्रो सबैभन्दा ठुलो उपलब्धि हो,’ उनले भने ।

विद्यालयका प्रधानाध्यापक विश्वरसिंह मेवाङले आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि यो सहयोग अत्यन्तै समय सान्दर्भिक र महत्त्वपूर्ण रहेको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष शोभा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र मण्डल, शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा विद्यालय र नगरपालिकाले फाउन्डेसन तथा मुख्य सहयोगदाताहरू श्याम सार्की मंगराती र फुलुमाया सार्की मंगरातीलाई सम्मानपत्रद्वारा सम्मान गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.