विपद्का कारण भदौ १३ देखि विश्वविद्यालयका परीक्षा रोकिँदै

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार ०८:१६

काठमाडौं । प्राकृतिक विपद्का कारण देशभरको जनजीवन प्रभावित भएसँगै भदौ १३ गतेदेखि सबै विश्वविद्यालयका परीक्षा रोकिने भएका छन् ।

सरकारले विश्वविद्यालय तहका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयका परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका हुन् ।

Advertisement

मन्त्री पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै परीक्षा स्थगनको निर्णय कार्यान्वयन गर्न विश्वविद्यालयहरूलाई निर्देशन दिए । उनका अनुसार स्थगित भएका परीक्षाको नयाँ तालिका परिस्थितिको मूल्यांकन गरी उपयुक्त समयमा सार्वजनिक गर्नुपर्नेछ ।

यसअघि भदौ १२ गते तय भएका परीक्षामा प्राकृतिक विपद् वा अन्य कारणले सहभागी हुन नसकेका विद्यार्थीका लागि पनि पछि पुनः परीक्षा सञ्चालनको व्यवस्था गर्न विश्वविद्यालयहरूलाई भनिएको छ । विपद्को अवस्था सामान्य नभएसम्म अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम नगर्नसमेत विश्वविद्यालयहरूलाई आग्रह गरिएको छ ।

सरकारले विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थाले निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग तथा सहजीकरण गर्नुपर्ने जनाएको छ । प्रभावित विद्यार्थी र आवश्यक परे अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

विपद्का कारण विद्यार्थीको पढाइमा परेको असरलाई ध्यानमा राख्दै शैक्षिक निरन्तरता कायम गर्न आवश्यक वैकल्पिक तथा सहजीकरणका उपाय अवलम्बन गर्नसमेत विश्वविद्यालयका पदाधिकारीलाई भनिएको छ । मन्त्री पोखरेलले अहिलेको संवेदनशील अवस्थालाई ध्यानमा राखेर निर्देशन तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

उनले विपद्को कठिन परिस्थितिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई प्राथमिकतामा राखेर विश्वविद्यालयले आवश्यक निर्णय लिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×